नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरञ्जीवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुढानीलकण्ठमा भइरहेको प्रतियोगितामा चन्द्रले दाङका भरत पुनमगरलाई हराए ।
विमलले ललितपुरका उमंग खत्रीमाथि जित निकाले । चिरञ्जीवीले च्याम्पियनका अजय पुनमगरलाई पाखा लगाए । प्रदीपले सोनाम लामालाई पराजित गरे । पुरुष ५७ केजीमा एपिएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यसैगरी, पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपिएफका सुमन कार्कीमाथि जित निकाले । आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्दलाई सहज स्कोरमा पाखा लगाए । प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित निकाली सेमिफाइनलमा पुगे । पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धीरन श्रेष्ठलाई हराए । पाटनका जेम्स महर्जनले तेन्जी शेर्पालाई पराजित गरेका छन् ।
यसैगरी, महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगीता राणालाई हराइन् । ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसीलाई निराश पारिन् । ५७ केजीमा एपिएफकी माला राईले आर्मीकी कमला खड्का तथा एपिएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।