दोलखा — थामी समुदायको जन्मदेखि मृत्युपर्यन्तसम्म संस्कार समेटिएको मुन्दुम पुस्तक ‘थाङ्मी कर्मकाण्ड : सिलोके पालाखे’ सोमबार सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा सदस्य गंगा कार्की, वाग्मती प्रदेशसभा सदस्यद्वय ठुला थामी र कुन्दनराज काफ्ले, नेपाल थामी समाजका अध्यक्ष होमबहादुर थामीले सोमबार सिंगटीमा सार्वजनिक गरेका हुन् ।
किरात थामी समुदायको उत्पत्ति कालदेखि वर्तमान सामाजिक जनजीवनमा पालना गरिदै आएको संस्कार, संस्कृति, परम्परालाई लिएर यो पुस्तक प्रकाशनमा ल्याइएको हो ।
नेपाल थामी समाज दोलखाले प्रकाशित गरेको पुस्तक विगु गाउँपालिकाको आर्थिक सहयोग रहेको छ । करिब ७ सय पृष्ठमा समेटिएको पुस्तकभित्र मानवजातिको उद्भव, थामी जातिको उत्पत्ति, विकास, विस्तारका विषयमा फलाक्ने मन्त्रलाई पनि पुस्तकमा समेटिएका छन् । धामी झाँक्री परम्परामा आधारित समुदायको कुलपुजा, भुमे, जन्म विवाह, मृत्यु संस्कार र मृत्युपछि गरिने अन्तिम संस्कारसमेत समेटिएको संकलक तथा सम्पादक लक्ष्मण थामीले बताए । थामी भाषामा प्रकाशित सामग्रीलाई नेपाली अनुवादसमेत गरिने जनाइएको छ ।
पुस्तकमा झाँक्रीको प्रयोग गर्ने मन्त्रका अंशसमेत समेटिएका छन् । पुस्तक प्रकाशनले थामी समुदायको संस्कार र संस्कृतिलाई पुर्नजीवन दिएर पुस्तान्तरण कार्यमा महत्वपूर्ण काम भएको सहभागीले बताएका छन् । लामो समयदेखि स्थलगत रूपमा तीन दर्जनभन्दा बढी पुराना धामीझाँक्रीसँगको अध्ययनपछि पुस्तकमा प्रकाशनमा ल्याएको संकलन लक्ष्मणले बताए । पहिलो विस्तृत ‘सिलोके पालाखे’ समग्र थामी समुदायको कर्मकाण्ड गर्दा प्रयोगमा आउने थामी समाज दोलखा अध्यक्ष होम थामीले बताए । जनगणना २०७८ अनुसार थामीको जनसंख्या देशभर ३२ हजार ७ सय ४३ छ भने दोलखामा १८ हजार ७५ जना छन् । यसैगरी थामी भाषा बोल्नेको संख्या २६ हजार ८ सय ५ जना छन् ।