पानीसँग युवा जोड्ने अर्थतन्त्र

आजभोलि बजारमा खाद्य पदार्थ, तरकारी र फलफूलको मूल्य बढेको अनुभूति गरिँदै छ। जनजीवन कष्टकर हुँदै छ, आपूर्ति प्रणाली खुम्चँदै छ। समयमा वर्षा नहुनु, भए पनि पर्याप्त नहुनु र भएको ठाउँमा पनि अनियमित ढङ्गले वा अतिवृष्टि वा खण्डवृष्टि हुनु मूल्य बढ्नुका आधारभूत कारण हुन्। पानीका भएका मुहान सुके, बाह्रै महिना सिँचाइ हुने गरी पूर्वाधार निर्माण हुन सकेन । परेको पानी अड्याउने परम्परागत प्रणाली भत्कँदै र बिग्रिँदै गयो, नयाँ प्रणाली स्थापित हुन सकेन। हिजोका आहाल, पोखरी, कुवा, कुला, खेतका गरा प्रणाली, सिमसारसमेतका जमिनमा चिस्यान बढाई रसिलो पारी राख्ने व्यवस्था विस्थापित भयो।

पुरानो जल प्रणालीको विस्थापनले ऊर्जाशील जनशक्ति रोजगारी तथा शिक्षाको नाममा बाहिर जाने क्रम बढायो, काम गर्ने हातहरूको सङ्ख्या घट्यो। पहाड–तराईका जमिन बाँझो रहन थाले। फलस्वरूप देशमा उत्पादन कम भयो। परिवत्र्य मुद्रा अमेरिकी डलरको मूल्य बढ्नु, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा बढोत्तरी हुनु र रसिया–युक्रेन युद्धको कारणले अन्तर्राष्ट्रिय वस्तु बजारको लागत बढ्नाले पनि नेपालको आपूर्ति र मूल्यमा प्रभाव पा¥यो। अर्थशास्त्रले खोतल्ने, विश्लेषण गर्ने र निचोड निकाल्ने प्रमुख विषय उत्पादन र उत्पादनका साधनबिच अन्तरसम्बन्ध अध्ययन नै हो। उत्पादनको प्रमुख साधन श्रमशक्ति हो, जमिन, भौतिक र वित्तीय स्रोत थप आधार हुन्। पानी भौतिक साधनमा पर्छ। श्रम वा मानिसको जीवन र जगत् यसैमा अडेको छ। दैनिक प्रयोजनदेखि प्राकृतिक वस्तु उब्जाउन र औद्यागिक वस्तु उत्पादन गर्न पानी नै चाहिन्छ।

पूर्वको कोशी प्रदेशदेखि पश्चिमको कर्णाली तथा सुदूरपश्चिमसमेत प्रदेशका कतिपय भूभागमा सिँचाइ मात्र नभई खानेपानीको अभावका कारण गाउँले बसाइँ सरेका छन्, उठीबासमा परेका छन्। नेपालमा मात्र होइन, भारतका झन्डै एक दर्जन राज्य खानेपानीको उपलब्धताको दृष्टिले जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। संसारमा पानीको मात्राको समस्या होइन, प्रमुख चुनौती भनेको स्रोत संरक्षण, गुणस्तरीयताको प्रत्याभूति र वितरणलाई सन्तुलित बनाउनु हो। विश्वको अबको सर्वोपरि प्राथमिकता पानी हो। कतिपय देशले जलस्रोतको विकास, संरक्षण, संवर्धन तथा वितरणसम्बन्धी दीर्घकालीन र रणनीतिक योजना बनाएर अघि बढ्दै छन्।

पछिल्ला वर्षमा शक्ति राष्ट्रको आँखा तेलबाट पानीका स्रोतमा पर्न थालेको छ। भारतले कहिलेकाहीँ बहसमा ल्याउने गरेको नदीमिलान योजना पनि जलरणनीतिकै पाटो हो। विश्वमा पानीको संरक्षण, संवर्धन र दिगो प्रयोगको समुचित चाँजोपाँजो मिलाउन नसकिएमा उत्पन्न हुने परिणाम घातक हुन्छ र त्यसको कारणले विश्वयुद्धसम्म हुन सक्ने अनुमान पनि लगाइन्छ। नेपालका लागि पानीको सार्थक संरक्षण, वितरण र व्यवस्थापन मुख्य चुनौती हुन्। मानिस र पानी उस्तै हुन्, दुवै अगाडि बढिरहन्छन्।

पहाडी क्षेत्रको पानी र नेपाल जस्तो अल्पविकसित देशका युवा त झन् चाँडो दौडन्छन्। यस अर्थमा नेपालमा पानी र युवा दुवै पक्षलाई अड्याउनु अपरिहार्य आवश्यकता भएको छ, पानी अड्याए युवा देशमा अडिन्छ अनि लगानी, काम, रोजगारी, उत्पादन र आय बढ्छ। पानीको उपयोग बहुपक्षीय ढङ्गले गर्न सके आर्थिक विकासमा दिगोपन आउँछ, यो समृद्धिसँग जोडिन्छ र यसले सम्पन्नताको ढोका खुल्छ।

पृथ्वीको कुल पानीमध्ये ३ प्रतिशत ताजा र ९७ प्रतिशत नुनिलो छ। पानीको स्रोत, गुण र मात्राको दृष्टिले भाग्यमानी नेपालमा उपलब्ध हुने सबै ताजा पानी हो। विश्वको उपलब्ध ताजा पानीमध्ये ६९ प्रतिशत हिमनदी तथा बरफका रूपमा र ३० प्रतिशत भूमिगत स्रोतबाट प्राप्त हुन्छ, बाँकी अन्य स्रोतबाट। ताजा पानीका मुख्य स्रोतमा सतह पानी, नदीप्रवाह र भूमिगत पानी पर्दछन्। सामान्यतया सतह पानी स्वाभाविक वर्षाबाट प्राप्त हुन्छ। सतह पानी प्राकृतिक प्रणलीको आगतका रूपमा आउँछ, पानी प्रणाली पर्यावरणीय ऊर्जाका रूपमा समेत उपलब्ध हुन्छ।

पछिल्ला दिनमा ताजा पानीको आपूर्तिर्मा निरन्तर कमी आउनु विश्वका लागि चिन्ताको विषय बनेको छ। पानीको उपयोग मूलतः कृषि, औद्योगिक र यातायात, घरेलु प्रयोग, मनोरञ्जन र पर्यावरणीय क्षेत्रमा हुन्छ। कतिपय मानव गतिविधि पानीको संरक्षण कार्यका लागि बाधक पनि हुन सक्छन्। अहिले नेपाल सरकार संविधानले निर्दिष्ट गरेको लक्ष्य तथा उद्देश्य हासिल गर्न र अहिले अर्थतन्त्र तथा विकासको गतिमा आएका चुनौती सम्बोधन गर्न सोह्रौँ आवधिक योजना बजेट कार्यमा जुटेको छ। तसर्थ यस्तो महत्वपूर्ण विषयको चर्चा गर्नु र सरकारलाई हेक्का दिलाउने यो उपयुक्त समय पनि हो।

जानेकै कुरा हो, चिस्यान भएका क्षेत्र हराभरा हुन्छन्, जमिनमा चिसोपन नहुँदा मरुभूमीकरण बढ्छ। नेपालका उत्तर वा पूर्व दिशातर्फ फर्केका डाँडा र पखेरा तुलनात्मक रूपमा रसिला र हरिया छन्, उत्पादनशील छन्, खोला र खोल्सीमा पानी बगेका छन्। गरा र पाटामा पानी भए तीन बालीसम्म उत्पादन हुन्छ। दक्षिण वा पश्चिम फर्केका डाँडा र खर्क उजाड छन्, उत्पादन न्यून छ, खानेपानीको पनि अभाव छ। त्यस्ता क्षेत्रबाट अन्यत्र बसाइँसराइको क्रम बढेको छ। रसिलो जमिन र हरियाली बस्तीमा फुर्तिलोपन देख्न सकिन्छ। त्यसैले अब गति कम गर्ने गरी पानी अड्याउने र चिस्यान बढाउने प्रकृतिका लघु, साना र बृहत् परियोजनाको तयारी र कार्यान्वयन गर्नुपर्ने भएको छ।

जहाँजहाँ सकिन्छ, पानीलाई त्यहीँ अड्याउने र नसके दौडाइको गति कम गर्ने गरी परियोजना बनाउनु पर्छ। यसका लागि पानीलाई आफ्नै भूमिमा घुमाउने र बढी समय अड्याउन सक्ने सिँचाइ, नदी मिलान, विद्युत्, यातायात, खानेपानी, जलपर्यटन, मत्स्यपालनसँग जोडिएका साना–ठुला, एकल वा बहुउद्देशीय योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु आवश्यक देखिन्छ। पूर्वपश्चिम नहरको विषयमा अध्ययन गर्न सकिन्छ। ताल र पोखरीलाई सम्भव भएसम्म नदी मिलान कार्यमा समायोजन गर्न सकिन्छ। हिमाली र पहाडी क्षेत्रमा रहेका प्राकृतिक ताल, कुवा र पँधेराको संरक्षण गर्ने अनि थप पोखरी, आहाल र कुवाको निर्माण, संरक्षण र विकास हुने आयोजना बनाई कार्यान्वयनमा ल्याउनु व्यावहारिक हुन्छ।

तराईका प्राकृतिक तालतलैया तथा पोखरीको संरक्षण गर्ने र नयाँ ताल, पोखरी तथा सिमसारको विकास, विस्तार एवं निर्माण सम्बन्धमा दीर्घकालीन रणनीतिक योजना र वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गर्न सके बाढी नियन्त्रण गर्नुका अतिरिक्त सिँचाइ, जल यातायात, जैविक विविधता संरक्षण, मत्स्यपालन तथा थप पर्यटकीय क्षेत्रको समेत प्रवर्धन र विकास सम्भव हुन्छ। यस्ता परियोजना कार्यान्वयनले नदीको बहाव कम हुन जान्छ, जमिनमा चिस्यान बढ्छ, यसले उत्पादन र उत्पादकत्व बढाउँछ, भूक्षय र नदीकटानमा न्यूनीकरण हुन्छ।

वन, भूसंरक्षण तथा अन्य भौतिक र सामाजिक पूर्वाधारसमेतका अन्तरसम्बन्धित क्षेत्रको विकास, संरक्षण एवं संरचना निर्माण गर्दा पानीलाई राष्ट्रिय भूभागभित्रै बढी समयसम्म अड्याउने विषयलाई प्राथमिकतामा राख्नु पर्छ। नदीहरूको हिमालदेखि तराईसम्मको अन्तरसम्बन्ध केलाएर त्यसकै आधारमा जलविद्युत्, सिँचाइ र खानेपानीसमेतका आयोजनाको निर्माण गर्न सके सङ्घीय संरचनाको कार्यान्वयन पनि सहज हुन्छ। त्यसो गर्दा ठुला नदीको देशभित्रको लम्बाइको सम्पूर्णता र त्यसले जनजीवनमा पारेको र पार्ने आर्थिक, सामाजिक, हावापानी र जैविक विधितासम्बन्धी प्रभावको आधारमा जलस्रोतको संरक्षण तथा उपयोग गर्ने गरी नीति तथा कार्यक्रम बनाई त्यसै आधारमा परियोजनाको विकास, कार्यान्वयन र अनुगमन गरेर उत्पत्ति बिन्दुबाट ३५–३६ घण्टा पुग्दा नपुग्दै देशको सिमाना काटी सक्ने पानीको गतिमा कमी ल्याई नेपालमा रहने समयलाई तीन गुणासम्म बढाउन सके पानीको स्रोतबाट देशले बढीभन्दा बढी फाइदा लिने अवस्था बन्छ।

सिँचाइ आयोजना, जैविक तथा अन्य विविधता, जलविद्युत् परियोजना तथा सडकसम्बन्धी परियोजनालाई समेत पर्यटकीय उद्योग तथा आर्थिक क्रियाकलाप बढाउने विषयसँग जोड्न सकिन्छ। यसले ठुलो लगानीको माग गरी रोजगारी दिन सक्ने कामको सिर्जना गर्दछ। यसका लागि पानीको संरक्षण, उपयोग र गुणस्तर कायम गर्ने कार्यलाई एकीकृत रूपमा अघि बढाउनु पर्छ। अहिलेसम्म कुरा बिग्रिसकेको छैन। अब यसको जीवन र गुणमा प्रतिकूल प्रभाव नपर्ने गरी यसलाई देशका उपयुक्त भूभागमा बढीभन्दा समयसम्म अड्याउनका लागि पानी घुमाउने र जमाउने परियोजना तयार गर्ने बेला आएको छ।

पानी अलमलका हरेक घुम्तीलाई उत्पादन तथा आर्थिक क्रियाकलापसँग जोड्नु पर्छ। यसो गर्दा पैसाको गति बढ्छ, युवा वर्ग पनि क्रमशः नेपालमै अडिन्छन्। यसले अन्तरकुन्तरको स्रोतको समेत उपयोग गरिएको, सबै वर्गमा पुगेको, सबै भूगोललाई ढाकेको, सबै क्षेत्र र विषयलाई समेटेको, गाउँ र सहर चिनेको दिगो किसिमको आर्थिक, सामाजिक विकासको बाटो खोल्छ। युवा देशमा अडिने बाटो बन्दै जान्छ। युवाको हातमा काम र गोजीमा दाम पर्न थाल्छ। यस कार्यले समग्र देशलाई समृद्धिको बाटोमा डो-याउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *