जहाँ पाइन्छ ३० थरी परिकार भएको ‘बाहुबली थाली’

आइडिया, इच्छा शक्ति र दृढता हुनुपर्छ, कुनै पनि व्यवसाय सफल हुन सक्छ!

यही विश्वासले रेस्टुरेन्ट व्यवसायमा लागेका हुन् २९ वर्षीय प्रशारण जोशी। उनले काठमाडौंको कपनस्थित ज्योति चोकमा ‘भोजन अनलिमिटेड रेस्टुरेन्ट एन्ड बार’ खोलेका छन्।

भोजन अनलिमिटेडको खास विशेषता हो ‘बाहुबली थाली सेट’। यही विशेषताले रेस्टुरेन्टमा अहिले ग्राहकको भिड लाग्ने गरेको छ।

बाहुबली सेट अनेक परिकारहरूको भव्य थाली हो। यसमा २६ देखि ३० वटासम्म परिकार हुन्छन्। एक सेटको खाना चारदेखि छ जनाका लागि पर्याप्त हुन्छ।

यसमा मटन, चिकेन र भेज गरी तीन थरीको बिरयानी, सात किसिमको तन्दुरी परिकार, तरकारी, मासुका विभिन्न परिकार, दाल, भात, अचार र सलाद हुन्छ। जेरी, लालमोहन लगायतका मिठाइ, दही र लस्सी पनि हुन्छ। शाकाहारीका लागि पनि बाहुबली थाली सेट तयार हुन्छ।

प्रशारणका अनुसार भोजन अनलिमिटेड रेस्टुरेन्टमा एकपटकमा कम्तीमा ६० जना ग्राहकले सेवा पाउन सक्छन्। रेस्टुरेन्ट बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म खुला रहन्छ।

‘प्रायः साँझ र रातिको समय ग्राहकको भिड हुन्छ। रेस्टुरेन्टको विशेषता भनेकै बाहुबली थाली सेट हो,’ प्रशारणले भने, ‘परिवार र साथीहरू मिलेर आउने ग्राहक धेरै हुन्छन्।’

बाहुबली थाली भारतीय खानाको सेट हो। परिकार पकाउने सेफ पनि भारतीय नै छन्। त्यसैले खानामा भारतीय मौलिक स्वाद पाइने उनको भनाइ छ। बिरयानी र तरकारीहरूमा ग्राहकको रूचि बढी छ। परिकार बनाउन सकेसम्म स्थानीय उत्पादन प्रयोग गरिने उनले बताए।

एउटा बाहुबली थाली सेट तयार गर्न २० देखि ३० मिनेट लाग्छ। यो सेट अर्डर गर्ने ग्राहकहरू प्रायः अग्रिम बुकिङ गरेरै पुग्छन्।

‘थालमा प्लेटहरू राख्नै समय लाग्छ। पकाउने समय छुट्टै,’ प्रशारणले भने, ‘टेबल अग्रिम बुकिङ गरेर आउँदा हामीलाई पकाउन र सर्भ (सेवा) गर्न पर्याप्त समय हुन्छ। ग्राहकहरूले धेरै बेर खाना पर्खिनुपर्दैन।’

थाली सेटको पर्खाइमा रहेका ग्राहकले पानीपुरी पाउँछन्। यो ग्राहकका लागि कम्प्लिमेन्टरी (अतिरिक्त सुविधा) हो।

सेट अर्डर गरेका ग्राहकले सरदर दुई घन्टा रेस्टुरेन्टमा बिताउँछन्। एउटा टोली उठ्नासाथ अर्को टोली बस्छ।

बाहुबली थाली सेट ३० इन्चको थालमा तयार गरिन्छ। सबै परिकार राखेपछि सेटको कुल तौल साढे १२ किलोसम्म हुन्छ। यो सेटको मूल्य तीन हजार पाँच सय रूपैयाँ छ। रेस्टुरेन्टमा प्रयोग हुने थाल र अन्य भाँडा नेपालकै बजारमा बनाउन लगाइएको हो।

‘एउटा निश्चित मूल्यमा बृहत् खाना सेट दिने अवधारणामा भोजन अनलिमिटेड सुरू भएको हो,’ उनले भने।

यसअघि यहाँ महाराजा थाली सेट थियो। परिकार संयोजनको अवधारणा फेरिँदै जाँदा बाहुबली थाली सेट बनेको हो। यो सेट सुरू भएको एक महिना भयो।

रेस्टुरेन्ट उद्घाटनपछि केही दिन ग्राहकलाई सीमित मूल्यमा असीमित परिकार खुवाउने योजना थियो। यसमा बफे (आफैंले खाना लिने) व्यवस्था थियो। यसै गरी जति पनि मःम खान पाइने सुविधा पनि थियो। यस्तो सुविधा सात महिना चल्यो। त्यसपछि महाराजा थाली सुरू भयो जसमा ५२ वटा परिकार समावेश हुन्थ्यो। त्यसले आठ जनासम्मलाई पुग्थ्यो।

‘महाराजा सेटको तुलनामा बाहुबली सेटमा कम परिकार हुन्छ तर स्वाद र गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं,’ प्रशारणले भने।

यहाँ भारतीयसँगै कन्टिनेन्टल र चाइनिज परिकार पनि पाइन्छ। हाल रेस्टुरेन्ट ३२ जना कर्मचारी छन्, तीमध्ये छ जना सेफ हुन्।

प्रशारणले डेनमार्कको निल्स ब्रक कोपनहेगन बिजनेस कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक तहको पढाइ पूरा गरेका छन्। उनी नेपालमा १२ कक्षा पूरा गरेर २०७३ सालमा डेनमार्क गएका थिए।

डेनमार्कमा हुँदा पढाइसँगै होटलमा काम पनि गरे। भाँडा माझ्ने कामबाट प्रवेश गरेर उनी किचनका सहयोगी भए। यही क्रममा खानाका परिकार बनाउनमा रूचि जाग्यो। डेनमार्कमा पढ्दै काम गर्ने क्रममै उनले स्वदेश फर्केर राम्रो रेस्टुरेन्ट चलाउने सोच बनाए। भोजन अनलिमिटेड पनि उतै सोचे, उतै एउटा फेसबुक पेज बनाए अनि रेस्टुरेन्ट सञ्चालनको जानकारी गराए।

पढाइ पूरा गरेर २०७७ सालको सुरूतिरै नेपाल फर्किने योजनामा थिए उनी। त्यही समय कोरोना फैलियो। थप एक वर्ष उतै रहे। कोभिड मत्थर हुँदै गएपछि २०७७ पुसमा नेपाल फर्के। २०७८ भदौमा भोजन अनलिमिटेड रेस्टुरेन्ट एन्ड बार खोले।

चार वर्ष डेनमार्क बस्दा रेस्टुरेन्टको भान्सामा काम गरेको अनुभवका आधारमा प्रशारण अहिले भोजन अनलिमिटेडको व्यवस्थापन गर्दैछन्। उनका अनुसार यो रेस्टुरेन्ट सुरू गर्न करिब ४८ लाख रूपैयाँ लगानी भएको छ।

रेस्टुरेन्टको भान्सा र व्यवस्थापन सम्बन्धी कामको अनुभव भए पनि आफैं सञ्चालक हुनु र कर्मचारीका रूपमा काम गर्नुमा निकै ठूलो फरक अनुभव गरेका छन् उनले।

‘आफू कर्मचारी हुँदा आफ्नो कामको मात्रै चासो हुन्थ्यो। सञ्चालक नै भएपछि थुप्रै कुरामा ध्यान दिनुपर्ने हुँदो रहेछ। सुरूका दिनमा निकै गाह्रो महसुस गरेँ,’ उनले भने।

उनी खास गरेर व्यवस्थापकीय काममै व्यस्त हुन्छन्। समय मिलाएर भान्सामा खानाका परिकार बनाउन पनि पुग्छन्।

व्यावसायिक पृष्ठभूमिको परिवारका भएर होला प्रशारणलाई सानैदेखि व्यवसायमै रूचि थियो। सानै उमेरमा एक जना साथीसँग मिलेर एउटा पसल चलाएका थिए। पसल साथीलाई सुम्पेर आफू रेस्टुरेन्ट क्षेत्रमा लागेका हुन्।

उनी हाल ललितपुरको जावलाखेलमा पनि भोजन अनलिमिटेडको शाखा सञ्चालनको तयारीमा छन्। नयाँ शाखा निकै ठूलो क्षेत्रफलमा चलाउने तयारी छ। त्यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि हुनेछ।

काठमाडौं उपत्यकाबाहिर पोखरा र चितवनमा पनि शाखा चलाउने योजना छ। प्रशारण भोजन अनलिमिटेडलाई चेन रेस्टुरेन्टका रूपमा विस्तार गर्न चाहन्छन्।

त्यस्तै चाँडै अनलाइन बुकिङ र खाना अर्डर सुविधा पनि विस्तार गर्ने तयारी छ।

मेहनत र लगनशीलतामा विश्वास राख्ने प्रशारणको विचारमा नेपाल खुला बजार हो। नयाँ अवधारणामा कुनै व्यवसाय गर्ने दृढ इच्छाशक्ति सहित काम गर्नेले सफलता पाउने उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *