चितवनबाट आएका किसानले हेटौंडास्थित बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन्। सरकारले दूधमा दिएको अनुदान रोकेपछि ब्यापारीले किसानको दूध खरीद गर्न छोडेका छन्। जसले गर्दा केही दिनयता दूधले बजार नपाएपछि आन्दोलनमा उत्रिनु परेको किसान किशोर बगालेले बताए।
चितवनका तीन वटा स्थानीय तहमा दिँदै आएको अनुदान प्रदेश सरकारले रोकेको छ। दोहोरो अनुदान हुने भन्दै अनुदान रोकिएको मन्त्रालयको भनाइ छ।
दूधमा अनुदान रोकिएका तीन वटै स्थानीय तहका किसान हेटौंडा पुगेका हुन्। उनीहरूले अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।
यससँगै उनीहरूले पशु बिमाको रकम पनि नपाएको जनाएका छन्। माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने किसान बगालेले बताए।