मध्यन्हको रापिलो घाम, गाडीको चर्को हर्न, चोक–बजारको हल्लीखल्ली छिचोल्दै पृष्टभूमीमा कतै मधुर मन्त्र-ध्वनी गुञ्जिरहेको छ । त्यही ध्वनी पच्छ्याउँदै एउटा व्यवसायिक भवनको तेस्रो तला उक्लिएपछि भेटियो, ‘यज्ञशाला’ ।
प्राचिन र आधुनिकताको कलात्मक फ्युजन जस्तो देखिन्छ, यो फराकिलो कक्ष । आरमदायक फर्निचर, इनडोर प्लान्ट, भित्ते चित्र । त्यहाँ तीन तन्नेरी पुरोहित आपसमा एकाकार भएर मन्त्र साधना गरिरहेका छन् ।
अब अर्को तलामा उक्लिनुपर्छ, जहाँ स्थायी हवन कुण्ड भेटिन्छन् । त्यसैको सम्मुखमा पूजाकोठा । पूजाकोठामा ठूल-ठूला पारदर्शी काँचभित्र रंग-विरंगी चामलका आकृतिहरु छन्, जुन झट्ट हेर्दा रंगोली झै लाग्छन् । यसको भित्री तहमा तामाको तारले रेखांकन गरिएको छ ।
खासमा यो विधिपूर्वक निर्माण गरिएको आधुनिक यज्ञशाला रहेछ, जहाँ कुनैपनि वैदिक कर्मकाण्ड गराउन सकिन्छ । तपाईं ग्रहशान्ति गराउनु होस् वा वास्तुबारे परामर्श लिनुहोस् । हस्त निर्मित कुण्डली बनाउनु होस् वा वैदिक पूजाआजा गर्नुहोस्, सम्पूर्ण कामको मेलोमेसो यही मिलाउन सकिनेछ ।
पूर्विय परम्परा र संस्कारको वैज्ञानिक अर्थ र विधि खोज्दै जाँदा केही युवाको दिमागमा ‘यज्ञशाला’को अवधारणा फुरेको रहेछ । त्यसैमध्येका एक अगुवा हुन्, जेसन अधिकारी ।
एमबिए अध्ययन गरिरहँदा २६ बर्षे जेनसको ध्यान मोडियो, वैदिक विज्ञानतर्फ । अनि त वनारसबाट ‘मेटाफिजिक्स’ अर्थात तत्वमीमांसाको पढाई सुरु गरे । मेटाफिजिक्स दर्शनको त्यो शाखा हो, जस अन्र्तगत ब्रम्हान्डको परम तत्वको खोज, अस्तित्व, स्थान, समय, कार्य आदिको अध्ययन गरिन्छ ।
व्यवस्थानको पढाई । उद्यम गर्ने चाह । अनि वैदिक विज्ञानतर्फ मोह । यी तीन कुराले उनलाई एकै ठाउँमा उभ्यायो, यज्ञशाला । आफुले हासिल गरेको व्यवस्थापकिय सीप र वैदिक ज्ञानलाई सदूपयोग गर्न उनले यज्ञशाला स्थापना गरे ।
उनका साथमा थिए, अभिषेक अधिकारी । सफ्टेरिका कलेजबाट सूचना प्रविधिमा स्नातक गरेका २७ बर्षिय उनी वेभ डेभलोपरको रुपमा काम गरिरहेका थिए । तर, उनी प्रविधिबाट मोडिएर वैदिक विज्ञानको पढाईमा लागे । केही नयाँ उद्यम गर्ने र वैदिक परम्परालाई सही अर्थमा व्यूँत्याउने लक्ष्यले उनलाई यज्ञशालासम्म डोहो¥यायो ।
यी दुई तन्नेरीसँग काँध थापिरहेका छन्, अर्का २७ बर्षे शान्तिराम अधिकारीले । पूख्र्यौली विरासत नै थियो पुरेत्याई । उनका पिता गाउँका नामी पुरोहित । यजमानहरुले खुब मान–मनितो गर्ने । पितालाई यसरी सम्मानपूर्वक व्यवहार गरेको देखेपछि शान्तिरामलाई यही क्षेत्रमा भविष्य खोज्न मन लाग्यो । अन्ततः उनले वैदिक कर्मकाण्डबारे औपचारिक शिक्षा लिए ।
संस्कृतमा स्नातक उनी वितेको दश वर्षदेखि वैदिक कर्मकाण्ड गरिरहेका छन् ।
उनीहरुसहित यज्ञशालामा छुटा–छुटै विषयमा विज्ञता हासिल गरिरहेका युवा पुरोहितहरु छन् । उनीहरुमध्ये कोही कर्मकाण्डमा सिपालु छन् भने कोही ज्योतिष विज्ञानमा । यज्ञशालाले वैदिक कर्मकाण्ड, ज्योतिषी सेवा, वास्तु विज्ञान जस्ता कुनैपनि क्षेत्रमा सेवा दिन सुरु गरेको जेसन बताउँछन् । उनी भन्छन्, ‘कसैले पनि आफ्नो घरमा वैदिक कर्मकाण्ड गर्नुपरेमा वा यहीँ आएर त्यस्ता कर्म गर्नुपरेमा हामी सबै सेवा सुविधा, जनशक्ति उपलब्ध गराउनेछौं ।’
वैदिक परम्पराको जरा पहिल्याउँदै
कसैले विवाह गराउँछन्, कसैले वर्तबन्ध । कसैले ग्रहशान्ति गराउँछन्, कसैले वास्तुपूजा । तर, यी सबै विधि–विधान हेर्दै जाँदा जेसनलाई कहिँ कतै खल्लो लाग्थ्यो । आखिर यी कर्मकाण्ड कति विधिपूर्वक हुँदैछ त ? उनले देखेका, भोगेका, सुनेका कुराहरु चित्तबुझ्दो थिएन ।
त्यसैले व्यवस्थापनमा स्नातकोत्तर गरिरहँदा पनि उनलाई यसको अन्तर्य के होला भनी खोजीनीति भइरहन्थ्यो ।
आखिर पूजा किन गरिन्छ ? मन्त्र किन जप गरिन्छ ? हवन किन गरिन्छ ? समग्रमा कर्मकाण्ड किन गरिन्छ ? यसको जवाफ खोज्दै जाँदा उनलाई वैदिक ज्ञानको सही बाटो पहिल्याउन मन लाग्यो । जेसन भन्छन्, ‘हामीकहाँ गरिने कर्मकाण्ड पूर्णत विधिपूर्वक रहेनछ । यसको विधि के हो र त्यसको विज्ञान के हो भनेर सही ढंगले काम गर्न हामीले यज्ञशाला खोलेका हौं ।’
खासमा लौकिक र परलौकिक सुख–शान्तिका लागि गरिने कर्म मार्गको विधान रहेछ, कर्मकाण्ड । आचार्य शान्तिराम भन्छन्, ‘तर, अहिले देखावटी जस्तै भयो । आफन्तलाई, छिमेकीलाई देखाउनका लागि कर्मकाण्ड गरिने ।’
कति पुरोहितले सही ढंगले मन्त्र पाठ नगर्ने, विधि नगर्ने उनको बुझाई छ । उनी भन्छन्, ‘न यजमानले त्यसको अर्थ बुझेका छन् न गुरुले सही ढंगले बुझाएका छन् । पूजा किन गरियो, के का लागि गरियो ? किन कलस स्थापना गरियो, केका लागि धान राखियो थाहा छैन । गुरुले एक माना घिउ मागेर हवन गरे । किन घिउ हवन गरे थाहा छैन । अहिले हामी अन्धधुन्ध कर्मकाण्ड गरिरहेका छौं ।’
हाम्रा पूर्खा एवं ऋषिमुनीहरुले गहन खोज, अध्ययन र अभ्यासबाट यी विभिन्न विवि विधान पहिल्याए । यस्ता विधि विधान आफैमा एक विज्ञान हुन्, जसले मान्छेको आध्यात्मिक चेत र प्रकृतिको लयलाई एकबद्ध गर्छ । त्यसैले हामीले गर्ने जे–जति वैदिक विधिहरु छन्, त्यो गहन, अर्थपूर्ण, लयात्मक र वैज्ञानिक छन् । उनीहरु यसै भन्छन् ।
‘हामीले गर्ने जुन मन्त्र पाठ गर्छौं, त्यो प्रकृतिको ध्वनीबाट लिइएको हो’ आचार्य शान्तिराम भन्छन्, ‘त्यसैले मन्त्र जप गरिरहँदा स्वर र सार, बल, मात्रा, एकरुपता, निरन्तरता जस्ता कुराहरु मिलाउनुपर्छ ।’
मन्त्र जपले अध्यात्मिक चेतको जागरण र प्रकृतिसँगको लयात्मक सम्बन्ध स्थापित हुनपुग्छ । हवन जस्ता विधिहरुले वायु शुद्धिकरणमा योगदान दिन्छ । त्यसैले कुनैपनि वैदिक कर्मकाण्ड गराउँदा गुरु पोख्त हुन जरुरी छ भने यजमानले पनि त्यसलाई बुझ्नु, अनुभूत गर्नु र अनुसरण गर्नु जरुरी हुने अभिषेक अधिकारी बताउँछन् ।
‘अहिलेको समय अनुकुल रहेर हाम्रा पूर्वज एवं ऋषिमुनीहरुले दिएको वैदिक ज्ञान र विधानलाई सही अर्थमा निरन्तरता दिने हाम्रो प्रयास हो’ अभिषेक भन्छन्, ‘यसैका लागि हामीले आ-आफ्नो ठाउँबाट वैदिक विधि विधानबारे अध्ययन र अभ्यास गरिरहेका छौं ।’
यज्ञशालाले कुनैपनि वैदिक ज्ञान एवं कर्मकाण्ड गर्नका लागि दक्ष पुरोहितहरु उपलब्ध गराउँछ । चाहे पास्नी, वर्तबन्ध, विवाह, गृहप्रवेश, वास्तु सेवा लिनका लागि यज्ञशाला सहयोगी हुनसक्छ । ‘हामीकहाँ पुरोहित, ज्योतिषी र वास्तु विशेषज्ञ जस्ता अनुभवी जनशक्ति पनि छन् ।’
व्यवस्थापन, सूचना प्रविधि जस्ता शैक्षिक पृष्टभूमीबाट आएका यी युवाहरुले यज्ञशालालाई यस्तो सुविधायुक्त र आधुनिक भेन्यु बनाएका छन्, जहाँबाट वैदिक विधि र कर्मकाण्डलाई नियमपूर्वक गराउन सकिनेछ । यो हाइटेक भेन्युबाट ज्योतिष परामर्श, वास्तु सेवाहरु प्नि सहज रुपमा उपलब्ध गर्न सकिन्छ ।