काठमाडौं । पछिल्लो समय नेपालमा पनि सबै उमेर समूहले रुचाउने स्ट्रिट फुड पानीपुरी आज बिहानैदेखि गुगलको लोगोसँगै देखिएको छ । भारतमा गोलगप्पा, पानीपुरी र पुचका नामले परिचित यो स्ट्रिट फुडलाई गुगलले डुडल गेमका रूपमा समावेश गरेको छ । गुगलले डुडल गेमका रूपमा पानीपुरी राख्नु रोचक घटना जोडिएको छ ।
१२ जुलाई २०१५ मा भारतको मध्य प्रदेशको इन्दोरी शहरमा रहेको एक रेस्टुरेन्टले ५१ फ्लेभरका पानीपुरी सबैभन्दा बढी फ्लेभरको पानीपुरी बनाएर विश्व रेकर्ड राखेको थियो । त्यसको आठ वर्षपछि गुगलले प्रयोगकर्तालाई सो घटनाको स्मरण गराउन डुडल गेममा पानीपुरी समावेश गरेको बताएको छ ।
”अन्तरक्रियात्मक खेल डुडलले आज पानी पुरी मनाएको छ,” गुगलले एक ब्लग सार्वजनिक गर्दै लेखेको छ, “यो आलु, चना, मसला वा खुर्सानी र स्वादयुक्त पानीले भरिएको क्रिस्पी शेलले बनेको लोकप्रिय दक्षिण एसियाली स्ट्रिट फुड हो । र यसमा सबैको स्वादका लागि पानीपुरीको विविधता छ ।”
पानीपुरी डुडल गेम खेल्ने प्रयोगकर्ताले भेन्डरलाई पानी पूरी भरेर सहयोग गर्नुपर्ने हुन्छ । माथि कुन पानीपुरी मागेको हुन् भन्ने देखाइएको हुन्छ । सो खेल खेल्ने व्यक्तिले तल ग्राहक छुट्टिनुभन्दा अघि नै उनीहरूले खोजेको पानीपुरी दिनुपर्ने हुन्छ । पानीपुरी दिन ढिलो भयो वा फरक पानीपुरी दिइयो भने गेम सकिन्छ ।
कसरी खेल्ने पानीपुरीको डुडल गेम ?
-सबैभन्दा पनि यहाँ क्लिक गरेर गुगल डटकममा जानुहोस् ।
– अनि गुगल सर्च बक्सभन्दा माथि रहेको गेमको अप्सनमा क्लिक गर्नुहोस् ।
– यति गरेपछि सोझै गेम खुल्छ अनि आफूलाई उपयुक्त मोड छान्नुहोस् ।
– त्यसपछि सबैभन्दा पहिले गेम खेल्न सिकाइएको हुन्छ ।
– त्यहाँ देखाएजस्तै माथि खोजिएको पानीपुरी छानेर डुडल गेम खेल्न सक्नुहुन्छ ।