काठमाडौं । ठमेलस्थित लर्ड अफ द ड्रिंक्स् (एलओडी)का दुईजना सञ्चालकलाई रिहा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको निर्णयअनुसार उनीहरु रिहा भएका छन् । प्रहरीले सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जेठ ३० मा १५ वर्षीया किशोरीलाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बालबालिका सम्बन्धी कसुरमा’ अनुसन्धान गरिरहेको थियो ।
सरकारी वकिल कार्यालयले गरेको निर्णयअनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । सरकारी वकिल कर्यालयले गरेको निर्णयमा भनिएको छ– ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिँदा जिम्मा जमानीमा हिरासत बाहिर राखेर अनुसन्धान गर्नु ।’
सुवाल र श्रेष्ठबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छैन । जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहिंका ग्राहकले ललितपुरमा ल्याएर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।