काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन ठाउँमा कति?

काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ। महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरिएको हो। उक्त विधेयकमा व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको दश वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्थासमेत राखिएको छ।

तर, पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्नुका साथै सम्पत्ति करसहितका सम्बन्धित अन्य कर असुल गर्ने जनाएको छ।

सवारी साधन पार्किङ शुल्कसम्बन्धी महानगरको नीति के छ? 
महानगरको आर्थिक विधेयक २०८० को दफा १२ मा सवारी साधनमा पार्किङ शुल्क लगाउने कुरा उल्लेख गरेको छ। महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने विधेयकमा उल्लेख छ।

सोही दफाको उपदफा (१) मा यो ऐन जारी भएका बखत काठमाडौं महानगरपालिका आफैंले आफ्नो क्षेत्रभित्र निश्चित अवधि तोकी दिइएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत अनुसूची–११ बमोजिम सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिने उल्लेख छ। विधेयकमा आवासीय वा व्यवसायिक भवनहरुमा रहे/भएका व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेधसमेत गरिएको छ। तर, संभावित क्षेत्रहरु पहिचान गरी फुटपाथबाहेक सवारी आवागमनमा अवरोध नहुनेगरी नगर कार्यपालिकाले मापदण्ड तोकी पार्किङ सुविधा उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ।

यस्तो छ पार्किङ शुल्कको दररेट
महानगरपालिकाले क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक–फरक हुनेगरी, कुनै पनि सडकको कूल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरेको छ।

sawari shulka1689067634.png

क्षेत्र नम्बर १: न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म) को काठमाडौं मध्यभागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु. १५ र प्रतिघण्टा रु.२५, चार पांग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० का दरले शुल्क निर्धारण गरेको छ।

क्षेत्र नम्बर २:  क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानहरुबाहेकका महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरुमा सवारी साधन पार्किङ गरेबापत दुई पांग्रेका लागि प्रतिघण्टा रु १५ र चार पाङग्रेका लागि प्रति घण्टा रु ४०, चार पाङग्रेभन्दा बढीका लागि रु १०० तोकिएको छ।

निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरपालिकाबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्नसक्ने समेत महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ।

पाँच वर्षसम्म व्यवसायिक कर छुट
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म शत प्रतिशत छुट प्रदान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख गरिएको छ।

महानगरपालिकाले आफैं वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने नीतिसमेत अंगालेको छ।

निजी क्षेत्रका पार्किङलाई प्रोत्साहन 
महानगरपालिकाले निजी क्षेत्रबाट निर्माण गर्ने पार्किङलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्ने व्यवस्था गरिएको छ। अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङमा भने शुल्क लाग्ने छैन।

IME

आर्थिक ऐन २०८० अनुसूची ११ (ख) महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा सञ्चालित सवारी साधन पार्किङमासमेत दर रेट तोकिएको छ। जसमध्ये दुईपाङ्ग्रे सवारी साधनको हकमा पहिलो आधा घण्टासम्मको लागि रु. १५, पहिलो एक घण्टासम्मको लागि रु. २५, एक घण्टा भन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप रु. ५, चारपांग्रे सवारी साधनको हकमा आधा घण्टासम्मको लागि रु. ४०, पहिलो एक घण्टासम्मको लागि रु. ७५ र एक घण्टाभन्दा बढीको लागि हरेक पन्ध्र मिनेटसम्मको लागि थप १५ रुपैयाँ तोकेको छ।

महानगरपालिकाले नक्सापास गर्दा भूमिगत पार्किङ क्षेत्र उल्लेख गरेको व्यवसायिक प्रयोजन रहेको भवनलाई पार्किङ अनिवार्य गर्नका लागि सहजीकरण गर्ने निती लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *