काठमाडौँ — अहिले अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर आर्थिक गतिविधि चलायमान हुनेगरी चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी साता ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
सरकारले राखेको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने उनले बताए । पछिल्ला दिनहरूमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, तरलता पर्याप्त रहेको लगायत सकारात्मक सूचक देखिँदा पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, चालु खाता घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको गभर्नर अधिकारीको भनाइ छ ।
‘गत आर्थिक वर्षका लागि राखिएको मूल्य वृद्धिको वान्छित सीमा सात प्रतिशत रहेकोमा त्यो भन्दामाथि नै रहने देखिएको छ । निक्षेप संकलन राम्रो देखिएपनि कर्जाको विस्तार घटेको छ,’ गभर्नर अधिकारीले भने ।अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि गभर्नरले बताए । त्यस्तै, समग्र बजार माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको उनको भनाइ छ । अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्नेक्रममा रहेको गभर्नर अधिकारीले बताए ।
`अहिले बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड रुपैयाँ अधिक तरलता रहेको छ । गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्´, उनले भने, `गतवर्षको भन्दा बाह्य क्षेत्रमा राम्रो सुधार भएको छ र भुक्तानी सन्तुलन सहज अवस्थामा पुगेको छ । सँगसँगै विश्व बजार र आन्तरिक बजार एकदमै असहज अवस्थामा रहेको स्थिति पनि अहिले देखिरहेका छौं ।´
समग्र अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के कस्ता उपकरण प्रयोग गर्ने भनेर राष्ट्र बैंकले उचित निर्णय लिने गभर्नर अधिकारीको भनाइ छ । `घरजग्गा क्षेत्रमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो´, उनले भने, `मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं ।´
कर्जाको ब्याजदर, निक्षेपको ब्याजदर र आधारदर घट्ने क्रममा रहेको र सीडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्य वृद्धि साढे छ प्रतिशतको वान्छित सीमाभित्र राख्नेगरी लक्ष्य तय गरेकोमा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैंकले जनाएको छ । आगामी साता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि गभर्नर अधिकारीले जानकारी दिए ।