फिदिमका सामुदायिक कुकुरमा देखियो रेबिज

पाँचथर — पाँचथर सदरमुकाम फिदिमको वडा नम्वर १ र २ मा आइतबार एउटा सामुदायिक कुकुरले ४ जना मानिसँगै दर्जन बढी घर पालुवा जनावर र सामुदायिक कुकुरलाई टोकेर घाइते बनायो ।

फिदिम नगरपालिकाका नगर प्रहरी,नेपाल प्रहरी र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक टोलीले सोमबार नियन्त्रणमा लिएर परीक्षण गर्दा सो कुकुरमा रेबिज संक्रमण पुष्टि भयो ।

पछिल्लो समय पाँचथर सदरमुकाम फिदिम र आसपासमा सामुदायिक कुकुरले मान्छे र जनावरलाई आक्रमण गर्ने क्रम बढेको छ ।

एकै दिन धेरै मान्छे र जनावरलाई टोकेका दुइटा कुकुर नियन्त्रणमा लिएर परीक्षण गर्दा दुवैमा रेबिज देखिएकाले सावधान हुन नगरपालिकाले सर्व–साधारणलाई आग्रह गरेको छ ।

सोमबार नियन्त्रणमा लिइएको कुकुरको घाँटी र टाउकोमा अन्य कुकुरले टोकेका घाउ र चोट पर्याप्त भेटिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्राविधिक विना काफ्ले भट्टराईले बताइन् ।

‘हालसम्म समातिएका दुवै कुकुरमा रेबिज पोजिटिभ देखिनका साथै तिनीहरुले अरु थुप्रै जनावरलाई टोकेको सूचना प्राप्त भएकाले भित्रभित्रै धेरैलाई संक्रमण भएको हुन सक्छ,’ भट्टराईले भनिन् ।

यो समयमा अरुबेला भन्दा सामुदायिक कुकुर सल्बलाउने भएकाले बाटो हिँड्दा सचेत हुनुपर्ने फिदिम नगरपालिका पशुपक्षी शाखाका प्रमुख तीर्थराज मिश्र बताँउछन् ।

रेबिज लागेको कुकुर वा बिरालोको र्‍यालबाट चाँडै अरुलाई सर्ने भएकाले सचेत हुन आग्रह गरिएको मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *