पायल्स : भ्रम र यथार्थ

मलद्वारसम्बन्धी सबै समस्या पायल्स नहुन सक्छ । जब कि धेरै मानिस मलद्वारमा समस्या देखिनेबित्तिकै त्यसलाई पायल्स भन्छन् र उपचार नगरी बस्छन् । मलद्वारमा दुख्ने, पोल्ने, चहर्‍याउने, दिसा साह्रो आउने, रगत जाने, सुन्निने, मासु पलाउने, चिलाउनेलगायतका समस्या पायल्स नहुन पनि सक्छ ।

पायल्स हुँदा मासु पलाउने हुन सक्छ वा रगत जम्ने अवस्था निम्तिन्छ । मलद्वारबाट रगत जानुको कारण भने अन्य समस्या पनि हुन सक्छ । च्यात्तिएर, फाटेर, एनल फिसरले गर्दा पनि रगत बगेको हुन सक्छ । त्यसैगरी, अल्सर घाउ भएको पनि हुन सक्छ । आन्द्रा पाकेको वा अरू रोगजस्तै क्रोम्स डिजिज, अल्सरल कोलाइटी पनि भएको हुन सक्छ ।

अथवा, आन्द्रामा रगत फाल्ने सानो मासु होलिपले पनि यस्तो समस्या निम्तिएको हुन सक्छ । क्यान्सरले गर्दा पनि रगत बगेको हुन सक्छ । यी कारणले रगत बग्दा पनि मानिसलाई पायल्स भएको भन्ने भ्रम हुन्छ । त्यसैले मलद्वारमा समस्या देखिएमा तत्कालै चिकित्सककहाँ जानुपर्छ । उनीहरूले समस्याको निदान गरेर त्यहीअनुसार उपचार थाल्छन् ।

कस्ता व्यक्ति जोखिममा ? 
मलद्वारसम्बन्धी रोग पहिला–पहिला उमेर बढी भएका वृद्धवृद्धा, धेरै हिँडडुल गर्न नसक्ने व्यक्ति, लामो समय कब्जियत भएका व्यक्तिमा देखिने गर्दथ्यो । अहिले किशोर–किशोरी तथा बालबालिकामा समेत देखिन थालेको छ । खानपिन र खराब जीवनशैलीका कारण बालबालिकामा पनि कब्जियत हुने, दिसाबाट रगत जानेलगायत समस्या देखिन थालेको हो ।

पछिल्लो समय घरमा पकाइएका खानेकुरा कम खाने, जंकफुड तथा फास्टफुड बढी खाने चलन छ । समयमा खाना नखाने, पानी कम खाने, फाइबरयुक्त खानाको कमी, फलफूल कम खाने हुँदा बालबालिकामा यस्तो समस्या देखिन थालेको होे ।

के गर्ने ?
– पायल्स भयो भनेर जथाभावी औषधि सेवन नगर्ने ।
– मलद्वारसम्बन्धी समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गरी उपचार गर्ने ।
– प्रशस्त पानी पिउने ।
– जंकफुड नखाने ।
– समयमा खाना खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *