रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् ।

५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘दाताले दान गरेको रगत सदुपयोग भएन भए त्यो अपराध हो । त्यो हुनु हुदैन । ’ विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिए । उनले भने, ‘पवित्रतामा थोरै धमिलो भए पनि छवि विग्रन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नु पर्छ । ’ आफु पनि बिगत ४० वर्षदेखि रक्तदान लगायत समाजिक काममा होमिएको बताउदै बस्नेतले प्राकृतिक प्रकोपको बेला नेपाल रेडक्रसले गरेको मानविय सेवा उल्लेखनिय रहेको स्मरण गरे । मैनबत्तीले आफू बलेर अरुलाई उज्यालो दिए जस्तै रेडक्रसमा लागेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदा भन्दा अरुको भलाईका लागि काम गर्नु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले समाजिक भावना र संकल्प बोकेको व्यक्ति मात्र रेडक्रसमा लाग्नु पर्ने बताए ।Red cross society 1

कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लखनिय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला साखा सहित कर्मचारी र समाजिक संस्थाहरु छन् ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनिय रहेको देखाएको जानकारी गराउदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताइन । रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्क सम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउदै डा. झाले त्यसलाई पनि गुनासो नआउने गरि काम गर्नु पर्नेमा जोड दिइन । रेपिड टेष्टको प्रयोगका बिषयमा अन्तर्राष्टिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नु पर्ने सुझाव डा. झाको थियो ।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानविय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नु पर्ने बताउदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *