लम्पी स्किनले धमाधम चौँरी मर्न थालेपछि शैलुङका किसान चिन्तित

शैलुङको चौँरी गोठका फुर्वा तामाङको मन अहिले बेचैन छ। दूध उत्पादन हुने मुख्य सिजनमा चौँरी यसरी बिरामी पर्लान र भटाभट मर्लान भन्ने उनले कहिल्यै लागेको पनि थिएन्।

दैव लागेको भन्नु कि दशा, फुर्वालाई अहिले महाविपत्ति आइलागेको छ। गोठका अधिकांश चौँरी बिरामी छन्। बिरामी परेका मध्ये पाँचवटा चौँरी त मरिसके। बाँकी पनि कति मर्ने हुन्, कति बाँच्ने हुन् ठेगान छैन।

नेपाल भरि फैलिएको लम्पी स्किन रोगले शैलुङका चौँरीलाई पनि छाडेन। सो रोगका कारण फुर्वा लगायत अधिकांश किसानका चौँरी बिरामी परेका छन्। हालसम्म ३० वटा बढी चौँरी मरिसकेका राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले जानकारी दिए।

शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन्। ती मध्ये १४ वटा रामेछापमा छन् भने एउटा दोलखाको भूगोलमा छ।रामेछापको डडुवा र गौश्वाराको जंगलमा चौँरी गोठ छन्। दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकामा चौँरी गोठ छ।

अहिले १५ वटा गोठमा करिब ५ सय चौँरी रहेको अनुमान छ। ती मध्ये आधा बढी चौँरी बिरामी परेका शेर्पाले दुखेसे पोखे।मुख्य दूध उत्पादनको सिजनमा रोग लागेपछि दूधको उत्पादन घटेको छ। सो रोग लागेपछि दूध दिने पशुमा दूध उत्पादन घट्छ। जसले गर्दा किसानले क्षति व्यहोर्नु परेको छ।

चौँरी बिरामी पर्दा पनि किसानले उचित रूपमा प्राविधिक र औषधि नपाएको शेर्पाले गुनासो गरे।‘चौँरी बेँसी झर्न सक्दैन,प्राविधिक लेकको जंगलमा आउँदैनन्,हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने?’,उनको गुनासो छ।

अहिले बिरामी चौँरीलाई ग्लुकोज पानी, सक्खर पानी लगायतको घरेलु औषधि खुवाएर राखिएको शेर्पाले बताउछन्। रोग नियन्त्रणमा नआउँदा कृषकहरू थप क्षतिको भयले चिन्तित भएका उनको भनाइ छ।  चौँरीलाई शैलुङको गहना नै मानिन्छ। शैलुङ घुम्न आउने मानिसहरूको प्रमुख लक्ष्य चौँरी हेर्ने हुन्छ।

शैलुङमा उत्पादित चौँरीको घ्यू र छुर्पी काठमाडौं तथा विदेशी बजारमा समेत पुग्दछ। यहाँको घ्यू र छुर्पी व्यापारीले अग्रिम रूपमा बुकिङ गरेर लैजान्छन्। शैलुङसम्म यातायात साधन चल्ने भएपछि किसानलाई गोठसम्म दाना तथा खाद्य सामग्री लैजान निक्कै सजिलो भएको छ।

जसले गर्दा चौँरी पालक कृषकको सङ्ख्या वृद्धि भएको छ। तर अकस्मात  रोग लागेर चौँरी मरेपछि किसानहरू हतोत्साहित भएका छन्। ‘एउटा चौँरी मर्दा एक लाख रुपैँया क्षति हुन्छ,यो रोगले किसानलाई धेरै क्षति र्पुयायो’,शेर्पाले प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *