वर्ल्डलिङ्कको एक वर्षको आम्दानी ९ अर्ब २० करोड, अन्य इन्टरनेट सेवा प्रदायकको कति ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षमै कूल नौ अर्ब १९ करोड ९१ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को अवधिमा उक्त आम्दानी गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले राज्यलाई १९ करोड ९० लाख लाख रुपैयाँभन्दा बढी रोयल्टी र नौ करोड ९५ लाख रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोष गरी कूल २९ करोड ८५ लाख रुपैयाँ भन्दा बढी राजस्व बुझाएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । वर्ल्डलिङ्क पछि इन्टरनेट सेवाबाट दोस्रो धेरै आम्दानी गर्ने कम्पनीमा सुबिसु रहेको छ ।

उक्त कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब २१ करोड ५७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । प्राधिकरणका अनुसार त्यसपछि धेरै आम्दानी गर्ने इन्टरनेट सेवाप्रदायक कम्पनीहरूमा क्रमशः टेकमाइन्ड्स नेटवर्कको दुई अर्ब २५ करोड ५७ लाख ५८ लाख, भायानेट कम्युनिकेसन्सको दुई अर्ब तीन करोड ७१ लाख, क्लासिक टेकको ८५ करोड ९९ लाख र डिश मिडिया नेटवर्कको ७७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यस बाहेक नेपाल डिजिटल सर्भिस प्रालिले ५८ करोड ३१ लाख, ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसनले ५१ करोड १४ लाख र वेब सर्फर नेपालले ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।

त्यस्तै कोनेक्ट नेपाल नेटवर्कले १६ करोड ५३ लाख, कम्युनिकेसन्स एन्ड कम्युनिकेटले १६ करोड दुई लाख, सीजी कम्युनिकेसन्सले १५ करोड ८३ लाख, एरोनेटले १२ करोड ४० लाख र फाइबर वर्ल्ड कम्युनिकेसनले ११ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । यसरी आर्थिक वर्ष २०७८/०७९ मा सबै इन्टरनेट सेवा प्रदायकको कूल आम्दानी २१ अर्ब २८ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको देखिन्छ ।

सो अवधिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३९ अर्ब ५० करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को कूल आम्दानी ३७ अर्ब ५५ करोड ३० लाख रुपैयाँभन्दा बढी थियो ।

समग्रमा उक्त अवधिमा सबै जसो इन्टरनेट तथा दूरसञ्चार कम्पनीहरूबाट राज्यलाई तीन अर्ब ४३ करोड, ९२ लाख रुपैयाँ रोयल्टी र एक अर्ब ७१ करोड ४५ लाख रुपैयाँ ग्रामीण दूरसञ्चार कोष बापतको राजस्व प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

त्यसो त आर्थिक वर्ष २०७९/०८० समेत समाप्त भइसकेको छ । तर ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी रकम बुझाउने म्याद आगामी पुस मसान्तसम्म रहेकाले गएको आर्थिक वर्षको विवरण प्राप्त हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *