दराज एपमा च्याटजीपीटीमा आधारित एआई च्याटबट सुरु

काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले च्याटजीपीटीमा आधारित एआई च्याटबट सञ्चालनमा ल्याएको छ । कम्पनीले आस्क दराज नामक च्याटबट प्रयोगमा ल्याएको हो । यससँगै दराजका ग्राहकले एआई च्याटबटसँग कुराकानी गर्न सक्नेछन् ।

ग्राहकलाई सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउन यो सेवा सुरु गरिएको बताइएको छ । आस्क दराजले ग्राहकको विशेष आवश्यकताको विश्लेषण गरी त्यसमा आधारित सामान सिफारिस गर्ने बताइएको छ ।

यसले ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गरेर अफलाइन तथा अनलाइन किनमेलबीचको जानकारी प्रस्ट पार्ने दराजले जनाएको छ । दराजमा रहेका ब्रान्ड र बिक्रेताले पनि आस्क दराजबाट लाभ उठाउन सक्नेछन् ।

प्रयोगकर्ताले गर्ने अन्तरक्रियाको मात्रा बढ्दै गएसँगै दराजले आफ्नो एआई च्याटबटलाई अप्टिमाइज गर्दै लगिने बताएको छ । जसले गर्दा ग्राहक सेवालाई अझ परिस्कृत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

दराजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीआरके मिकेलसेनले वाणिज्यको शक्तिमार्फत समुदायको उत्थान गर्नु आफूहरूको उद्देश्य रहेको बताए ।

“यो हाम्रो लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गो हो । किनकि, हामीले नयाँ बजार विस्तार गर्न प्रविधिको प्रयोग गरिरहेका छौं । बजारमा स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको सन्दर्भमा माएक्रोसफ्ट एजुरे ओपन एआई सेवाको फाइदा उठाएर हाम्रो एपमा नयाँ सुविधा थपेका छौं ।”

दराज नेपालले इलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्यलगायतका सामग्रीको अनलाइन व्यापार गर्दै आएको छ । हाल १८ हजारभन्दा बढी बिक्रेताको सञ्जाल रहेको कम्पनीले जनाएको छ ।

5 thoughts on “दराज एपमा च्याटजीपीटीमा आधारित एआई च्याटबट सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *