बुटवल : आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा इलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पतिसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ।
बुटवल उपमहानगरपालिका १ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सिता कशौधनको दम्पत्तिसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कशौधन दम्पतीले २०६७ जेठ १० मा विवाह दर्ता गरेको विवरण छ। विवाह दर्ताको २० दिनपछि ०६७ जेठ ३० मा तीन सन्तानको जन्मदर्ता गराएको भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रमेशले दाईकी श्रीमतीसँग विवाह गरी पहिलेकै सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउने प्रयास गरेको खुलेको छ। रमेशले २०६३ फागुन २ मा नेपाली नागरिकता लिएका छन्। श्रीमती सीताले ०७६ जेठ ६ मा वैवाहिक अंगिकृत नागरिकता लिएकी छन्।
प्रहरीले नागरिकताका लागि सिफारिस दिने वडाध्यक्ष नरेन्द्र बस्नेतलाई पनि अनुसन्धानमा राखिएको जनाएको छ। बुटवल उपमहानगरपालिका १ का वडाध्यक्ष बस्नेतले भने सम्पूर्ण कागजात हेरेर नै आफूले नागरिकताका लागि सिफारिस गरेको बताए। ‘हामीले प्रमाणका आधारमा नागरिकताका लागि सिफारिस गरेका छौं’, उनले भने।
कशौधन दम्पतीले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनि विवरण पेश गर्दै नागरिकता दिलाउने प्रयास गरेको इलाका प्रशासन कार्यालयका सूचना अधिकारी विष्णु ज्ञवालीले बताए।