आसन्न एसिया कपका लागि श्रीलंकामा अभ्यासरत नेपाली क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । नेपालले श्रीलंकाको पुरानो क्लब ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिकसँग अभ्यास खेल खेल्न लागेको हो ।
खेल बिहान १० बजे ब्लूमफिल्डमा सुरु हुनेछ । ब्लूमफिल्डमा विकेटकिपर सानदुन विराकोडी, अलराउन्डर लाहिरु मदुशानका, स्पिनर जेफ्री वान्डरसेलगायत रहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलिसकेका छन् ।
एसिया कप खेल्नुअघि नेपालले श्रीलंकामा चार अभ्यास खेलिरहेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बाँकी तीन खेलको तालिका भने सार्वजनिक गर्न बाँकी छ ।
एसिया कप आउँदो ३० अगस्टदेखि पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालले पहिलो खेल ३० अगस्ट अर्थात् १३ भदौमा पाकिस्तानको सामना गर्ने तालिका छ ।
नेपाल र पाकिस्तानबीचको खेल मुल्तान स्टेडियममा हुनेछ । यस्तै, नेपालले १८ भदौमा भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।