केही दिनयता काठमाडौं महानगरको बिजुलीबजार, बागबजार, वसन्तपुर दरबार क्षेत्रलगायतका सडक–किनारमा रातो रङ लगाएका सुन्दर गमला यत्रतत्र देख्न थालिएको छ । गमला मात्र होइन, यसमा विभिन्न किसिमका फूल पनि ढकमक्क फुलेका छन् । जसले काठमाडौंका सडक–किनार, फुटपाथ आकर्षक र सुन्दर देखिएका छन् ।
काठमाडौं महानगरका अनुसार सहरी सौन्दर्य प्रवर्द्धन गर्नका लागि ती ठाउँहरूमा अघिल्लो शनिबारदेखि गमला राखी फूल फुलाउन थालिएको हो । ‘सहरी सौन्दर्य प्र्रवद्र्धनका लागि फूल रोप्न थालेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘महानगरभित्रका खाली ठाउँ, ठूला ठाउँ र वातावरणलाई टेवा दिनुपर्ने ठाउँ हेरेर फूल रोप्ने र फुलाउने काम गरिरहेका छौँ ।’ उनका अनुसार ती ठाउँको प्रवर्द्धन र हेरचाह महानगरअन्तर्गत उद्यान तथा हरियाली आयोजनाले गर्नेछ ।
ललितपुरका सडक एक वर्षअघिदेखि नै ढकमक्क
काठमाडौं महानगरले हालै मात्रै सहरी सौन्दर्य प्रवर्द्धन गर्न थाले पनि ललितपुर महानगरले भने एक वर्षअघि नै यसलाई नियमितता दिइरहेको छ । महानगरको जावलाखेलका दुई ठाउँमा पार्किङ हटाएर गमला राख्ने काम सफल भएपछि अन्य सात ठाउँमा गमलामा फूल रोपेर सहरी सौन्दर्यतालाई बढावा दिइरहेको छ ।
हाल महानगरले जावलाखेलमा दुई ठाउँ, लगनखेल (बटुक भैरव), पुल्चोक (दमकल चोक) दायाँबायाँ दुई ठाउँ, मंगलबजार, सेन्ट सेभियर्स स्कुलआसपास गमलामा फूल रोपेर सहरी सौन्दर्यता प्रवर्द्धन गरिरहेको छ । ती ठाउँमा टहलिन र आराम गर्नका लागि बेन्चको समेत व्यवस्था गरेको छ ।
ललितपुरको महानगरीय प्रहरी बल प्रमुख सीताराम हाछेथूका अनुसार जावलाखेलमा गमलामा फूल रोपेर राख्ने काम सफल भएपछि अन्य ठाउँमा पनि विस्तार गरिएको हो । ‘मेयरसाबको निर्देशनअनुसार विभिन्न व्यक्ति तथा संस्थाले अकुपाई गरेको ठाउँ, निर्माण सामग्री राखिएका ठाउँ, गाडी र मोटरसाइकल पार्क गर्ने गरिएको ठाउँ, घरका विभिन्न सामान राख्ने ठाउँमा यस्तो गरिएको हो । पर्यटक धेरै आउने, मन्दिरमा आउने दर्शनार्थीको सुविधालाई हेरेर गमलामा फूल रोपेर सौन्दर्यकरण गर्ने काम भइरहेको छ ।’ नगर प्रमुख हाछेथूले भने, ‘हामीले गमलामा फूल रोपेर राख्ने मात्र होइन, ती ठाउँमा बेन्च पनि राखेका छौँ । केहीबेर आराम गर्न पनि मिल्छ । अहिले धेरै ठाउँमा कसैलाई कुर्नुपरे होटेलभित्रै बस्नुपर्ने अवस्था छ । त्यसैले बेन्चहरू पनि राखेका हौैँ ।’उनका अनुसार ती ठाउँलाई भूकम्पजस्ता प्राकृतिक विपद्का वेला प्रयोग मिल्नेसमेत बनाइएको छ । ‘विपद् आएमा बस्न पनि मिल्ने भयो । अस्थायी रूपमा राखिएका गमला, बेन्च सारेमा ती ठाउँ प्रयोग गर्न सकिने भयो । यी ठाउँले सुरक्षा दिने भयो । आँखाका लागि राम्रो भयो । वातावरणीय दृष्टिले राम्रो भयो । पुल्चोक, जावालखेलजस्ता रातो मत्स्येन्द्रनाथको रथयात्रका वेला प्रयोग गरिने ठाउँ सुन्दर हुँदा विदेशमा पनि राम्रो सन्देश जाने भयो,’ उनले भने ।
सात ठाउँमा एक सय २० वटा ठूला गमला
ललितपुर महानगरले गमलाका फूलमा हिउँदमा एक दिन बिराएर पानी हाल्ने गरेको छ । अन्य काम भने महानगरअन्तर्गत वातावरण शाखाले गर्दै आएको छ । महानगरका अनुसार विभिन्न ठाउँमा ७० वटा बेन्चसमेत राखिएको छ । ‘सुरुमा गमला राख्दा गाडी, मोटरसाइकल पार्क गर्न बानी परेकाहरू आएका थिए । तर, ती ठाउँ सुन्दर र राम्रो देखिन थालेपछि आउन छाडेका छन्,’ नगर प्रहरी प्रमुख हाछेथूले भने, ‘हामीले सुरु गरेको यो काम सफल हुँदै गइरहेको छ । अन्य ठाउँमा पनि विस्तार गर्ने तयारीमा छौँ । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ ।’ काठमाडौं महानगरले सिमेन्टबाट बनेका गमलाहरूमा फूल रोपे पनि ललितपुरले प्लास्टिकको गमला प्रयोग गरेको छ । महानगरका अनुसार टिकाउ सुरक्षाका हिसाबले प्लास्टिकको गमला राखिएको हो । अहिलेसम्म गमला फुट्ने, बिरुवा हराउनेलगायत समस्या छैन ।