१९ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सात वर्षपछि गत १४ असारमा राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भइन् । मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन् ।
फाउण्डेसनकै संरक्षक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको त्यो कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देश पनि दिइन् । उनको भनाइ थियो, ‘मुलुकको राजनीतिक संरचनामा परिवर्तन आए पनि नेपाली क्रान्तिको कार्यभार पूरा भएको छैन ।’
११ कात्तिक २०७२ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन् । गत २९ फागुनमा राष्ट्रपतिको दोस्रो कार्यकाल समेत सकिएपछि भण्डारी संभवतः पहिलो पटक फाउण्डेसनको ब्यानरमा सार्वजनिक कार्यक्रममा सहभागी भइन् । ‘यो फाउण्डेसन नै उहाँ (विद्या भण्डारी)को हो, आफ्नै संस्थामा आवश्यक परेको काम गर्न सक्नुहुन्छ’, फाउण्डेसनकी सचिव पेम्बा लामा भन्छिन् ।
फाउण्डेसनको कुनै औपचारिक पदमा नरहे पनि राजनीतिक लिगेसी र संस्थाको उद्देश्यसँग पूर्वराष्ट्रपति भण्डारी जोडिएको उनी बताउँछिन् । ‘आफैं संस्थापक भएर जन्मिएको संस्थामा कार्यक्रम बनाएर हिंड्न सक्नुहुन्छ, केही अप्ठ्यारो छैन’, सचिव लामा भन्छिन् ।

स्रोतका अनुसार, यसपटक मदन जयन्तीको कार्यक्रम पूर्वराष्ट्रपति भण्डारीकै सक्रियता र योजनामा चलिरहेको छ । मदन जयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीले एमालेका ११ वटा जनसंगठनलाई परिचालित गरेकी छन् । ‘आफ्नै निवासमा बोलाएर उहाँले मदन भण्डारीको जन्मजयन्ती मनाउनेबारे छलफल गर्नुभयो, त्यसै अनुसार अहिले कार्यक्रमहरू चलिरहेको छ’, भण्डारी निकट एक नेता भन्छन् ।
उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अनेम संघ, खेलकुद महासंघ, प्रेस चौतारी लगायत जनसंगठनका पदाधिकारीको बैठकै राखेर योजना बनाएकी हुन् । ‘पार्टीभित्र धेरै जनपरिचालन हुने जनसंगठनहरू परिचालन गरिएको हो, उद्देश्य चाहिं मदन भण्डारीको योगदान सम्झने नै हो’, ती नेता भन्छन् ।
यी जनसंगठनहरूमध्ये अनेरास्ववियु अधिकांश जिल्लामा फाउण्डेसनसँग सह-आयोजक बन्यो । ‘हाम्रो अलग्गै कार्यक्रम पनि थियो, आवश्यकताको आधारमा सहकार्य पनि गरियो’, अनेरास्ववियुका अध्यक्ष समिक बडाल भन्छन् ।
यसरी पार्टी पंक्ति र जनसंगठनका नेता तथा कार्यकर्ताहरू फाउण्डेसनको ब्यानरमा पार्टीका पूर्वमहासचिव एवम् जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक नेता मदनको जन्मजयन्ती मनाइरहँदा एमाले भने छोटो औपचारिक कार्यक्रममा सीमित भयो । ‘वृक्षरोपण, मदन भण्डारीबारे चर्चा गरेर केन्द्रीय कार्यालयमै जन्मजयन्ती मनायौं’ एमाले कार्यालय सचिव डा.भीष्म अधिकारी भन्छन् ।
मदन भण्डारी फाउण्डेसन स्थापना र सञ्चालनमा पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले अध्यक्ष ओलीको साझा प्रयत्न रहँदै आएकाले एमाले कार्यकर्ताले यस्तो दृश्यलाई स्वाभाविक रूपमा लिएको देखिन्छ । तर नेतृत्व पंक्तिमा रहेकाहरूले भने फाउण्डेसन मार्फत भण्डारीले बढाएको सक्रियतालाई चासोका साथ हेरेका छन् ।
उनका भनाइमा, पूर्वराष्ट्रपति भण्डारीले सरकारी सुविधा नलिई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने निर्णय लिएरै राजनीतिमा आउने सन्देश दिएकी थिइन् ।
‘आवश्यक परे राजनीतिमा आउनकै निम्ति यस्तो निर्णय लिइएको बुझ्न गाह्रो छैन’, ती नेता भन्छन् । नभन्दै, अहिले भण्डारीको निवासमा एमालेका प्रभावशाली नेताहरूदेखि कार्यकर्ता पंक्तिको भेटवार्ता बढ्दै गएको छ । ‘उहाँको पृष्ठभूमिका कारणले पनि भेटघाट हुने भयो, अहिले त मदन भण्डारीको जन्मजयन्ती सप्ताह चलिरहेकाले अझ बढेको छ’, बूढानीलकण्ठ निकट स्रोत भन्छ ।
एमाले नेता कृष्ण राई, पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई अस्वाभाविक रूपमा हेर्न नहुने बताउँछन् । भण्डारीलाई राजनीतिमा आउन खुलेरै सहयोग गरिरहेका राई भन्छन्, ‘६१ वर्षकै उमेरमा निष्क्रिय बस्नुहोस् भन्यो भने कसैले मान्ला ? समकालीन राजनीतिमा यो प्रश्नको जवाफ दिने परिस्थिति छैन ।’