कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई दियो काठमाडौं महानगरले निर्देशन

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ।

कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ।

‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।

क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले बताएको छ।

यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।

 

‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन भइसकेको छ। विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ उसले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *