काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी दुई शनिबार राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन दिएको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबारका दिन राजस्व संकलनका लागि सेवा बन्द नगर्न निर्देशन दिएको हो ।
अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले परिपत्र जारी गर्दै भनेको छ, ‘असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्नेछ ।’