नाबालिगलाई रात्रिक्लब र होटल प्रवेशमा नियमन खोइ ?

काठमाडौँ — ठमेलस्थित नाइट क्लब एलओडी पुगेकी १५ वर्षीया किशोरीमाथि बलात्कार भएको घटनामा आरोपित पक्राउ परिसकेका छन् । नाबालिगलाई बिनासर्त होटल तथा रात्रिक्लबमा प्रवेश दिएको र त्यसपछि यौनहिंसा भएको यो पहिलो घटना होइन । बारम्बार जघन्य घटना हुँदा पनि उमेर हदसम्बन्धी कानुन कार्यान्वयनको सुरुवात नै भएको छैन ।
प्रहरीले क्लबका सञ्चालकलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । तर, एसईई दिएर काठमाडौं घुम्न आएकी नाबालिग कसरी नाइट क्लबसम्म पुगिन् र क्लबले किन प्रवेश दियो भन्ने प्रश्न अनुत्तरित छ ।

उदयपुरकी ती किशोरी कोटेश्वरस्थित आफन्तकहाँ बस्दै आएकी थिइन् । गत जेठ ३१ मा एलओडी पुगेकी उनलाई एक वयस्क पुरुषले मदिरा खुवाएपछि आफ्नै गाडीमा राखेर ललितपुरको बागडोल पुर्‍याएका थिए । त्यहीं रहेको कार्यालयमा उनले आफूमाथि बलात्कार गरेको किशोरीको भनाइ छ । घटनापछि उनले आफन्तलाई फोनमार्फत जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीसम्म सूचना पुग्यो, प्रहरी घटनास्थल पुग्दा आरोपित भागिसकेका थिए । ‘चार घण्टापछि मात्रै पक्राउ गर्न सफल भयौं,’ ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले भने । उनका अनुसार आरोपित कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ । कोइराला बागडोलमा रहेको पश्चिमाञ्चल सोलुसन प्रालिका सञ्चालक एवं व्यवस्थापक हुन् ।

प्रहरीले एलओडीका सञ्चालक राजुसिंह सुवाललाई बिहीबार र अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको छ । ‘नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ गरेका हौं,’ प्रवक्ता कार्कीले भने, ‘किशोरी कोसँग क्लब पुगिन् भनेर खोजी गर्‍यौं तर आफन्तसँग नगएको बुझिएको छ । उनी पीडामा भएकाले थप केरकार गरेनौं, पछि खुल्दै जाला ।’ किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

‘बालबालिका ऐन २०७५’ ले १८ वर्ष पूरा नगरेकालाई बालबालिका भनी परिभाषित गरेको छ । बालबालिकालाई धूमपान, मद्यपान वा जुवातासजस्ता कुलतमा संलग्न गराउने, बालिगका लागि खोलिएका डान्सबार, क्यासिनोजस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने, बालिगका लागि तोकिएका चलचित्र, अन्य श्रव्यदृश्यजस्ता सामग्री देखाउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानिन्छ । सो कसुर गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय तोकिएको छ । यसैगरी, बालबालिकालाई मनोरञ्जनजन्य जादू वा सर्कसमा लगाउनेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद हुन्छ । ‘होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३’ होटल सञ्चालकले सेवा लिन आएका ग्राहकको नाम, नागरिक, पेसा, आएको मिति र ठेगानासमेतको विवरण लेखाउनुपर्छ । १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि होटल, रेस्टुराँ वा भट्टी पसलका सञ्चालकले मदिरा बेच्न वा खुवाउन हुँदैन । होटल, रेस्टुराँ सञ्चालक वा पसलेले सो व्यवस्था पालना नगरे एक लाख रुपैयाँसम्म जरिवाना र आवश्यक देखिए त्यस्ता होटल, रेस्टुराँ वा पसल बन्द गर्ने दण्डसजाय तोकिएको छ ।

तर, बालबालिकासम्बन्धी नीतिनियम र कानुनी प्रावधान कडाइका साथ लागू भएको छैन भने उमेर पहिचान नगर्दा रात्रिकालीन, मनोरञ्जन क्षेत्रमा आपराधिक, यौनजन्य हिंसा र दुर्व्यवहार बढ्दै गएको छ । यस्ता ठाउँमा घटना भएलगत्तै प्रहरीलाई जानकारी गराउने, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा मध्यस्थता गर्ने प्रवृत्ति छ ।

माथिको घटनाले डिस्को, डान्सबार, क्यासिनो, मसाज, दोहोरी, रोदीघर, होटल वा मनोरञ्जन क्षेत्रमा बालिका असुरक्षित छन् भन्ने पनि देखाउँछ । मनोरञ्जन क्षेत्रभित्रको हिंसालाई गत वर्ष एक किशोरीले सार्वजनिक गरेकी थिइन् । आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी हुँदा आफूलाई आयोजकले बलात्कार र यौनशोषण गरेको घटनालाई टिकटक र इन्स्टाग्राममार्फत उनले खुलाएकी थिइन् । उनलाई आयोजक भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डेले बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बेहोस हुने पेय पदार्थ खुवाई पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो/भिडियोमार्फत ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म यौन शोषण गरेको पीडितको भनाइ थियो । घटना हुँदा उनी १६ वर्षकी थिइन् । पाण्डे मानव बेचबिखन–ओसारपसारसम्बन्धी मुद्दामा कारागार चलान भइसकेका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले एलओडीमात्रै होइन, सामान्य रेस्टुरेन्टमा समेत हुन सक्ने यस्ता जोखिमलाई रोकथाम गर्न सरकारले प्रचलित ऐनकानुनको दबाबपूर्ण ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । ‘बालबालिका ऐनको व्यवस्थाले अभिभावक र व्यवसायीलाई उत्तिकै जिम्मेवार बनाएको छ,’ उनले भने, ‘छोराछोरीको निगरानी राख्ने काम अभिभावकको हो भने व्यवसायीले ग्राहकको प्रवेश गराउँदा मात्रै होइन, प्रचारप्रसार विज्ञापन गर्दैखेरी १८ वर्ष पूरा भएकाले मात्रै छिर्न पाउने भनेर जानकारी गर्नुपर्ने हो, तर त्यो भएको छैन ।’

समाजशास्त्री निर्मला ढकाल अभिभावक र मनोरञ्जन व्यवसायीले नै जिम्मेवारीबोध लिनुपर्ने बताउँछिन् । ‘क्लबहरू १८ वर्ष माथिकालाई हो भनेपछि त्यसभन्दा कम उमेरकालाई प्रवेश गराउनु भएन, प्रवेश गराउनु नै अपराध हो,’ उनले भनिन्, ‘त्यहाँ कुनै घटना भइहाल्यो भने प्रहरी प्रशासनले कारबाही गर्दैनन्, गरेको भए यस्ता घटना दोहोरिने थिएनन् ।’ नाबालिग विशेष संरक्षण र निगरानी गर्नुपर्ने वर्गमा पर्ने भएकाले सबैले जिम्मेवारीबोध गर्नुपर्ने उनको भनाइ छ । ‘बालबालिका उत्ताउलो भएर गए भनेर समाजले दोष दिने, प्रहरी प्रशासनले पनि त्यही मानसिकता राख्ने समस्या भयो,’ उनले भनिन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल कानुनी प्रावधानले यस्ता ठाउँमा बालबालिकालाई प्रवेश गर्न रोक लगाएको बताउँछन् । शंका लागेको अवस्थामा व्यवसायीहरूले विद्यालयको परिचयपत्र, नागरिकता वा परिचय खुल्ने कुनै न कुनै आधिकारिक परिचयपत्र मागेर ‘स्क्रिनिङ’ गर्नुपर्ने उनको भनाइ छ । विकसित देशमा वयस्कले बालबालिकालाई चुरोट किन्न लगाउने त टाढाको कुरा, चुरोट दिएको नै पाइए ती वयस्कमाथि कारबाही हुने गरेको उदाहरण दिँदै उनले भने, ‘अभिभावकले नै बालबच्चालाई चुरोट, रक्सी किन्न पठाउँछन् ।’

हरेक देशमा बालिग लक्षित डिस्को, डान्सबार, क्यासिनो, मसाज, दोहोरी, रोधीघर, होटल वा मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने विषयमा उमेरहद तोकिएको पाइन्छ । बेलायतमा सरकारी कानुनअनुसार कम्तीमा १८ वर्ष पूरा गरेकाले मात्रै ‘नाइट क्लब’ मा प्रवेश पाउँछन् । ग्राहकहरूको परिचय खुल्ने पासपोर्ट, फोटोसहितको राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र हुनुपर्छ । अन्यथा ‘नाइट क्लब’ ले उच्च मूल्यको जरिवाना तिर्नुपर्ने हुँदा परिचयपत्रबिना ग्राहकलाई प्रवेश नै दिँदैनन् । ‘दी इन्डियन एक्सप्रेस’ मा उल्लेख भएअनुसार भारतको गोवा, हिमाचल प्रदेश, कर्नाटक, सिक्किम र पुडुचेरीमा रक्सी किन्नका लागि न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।

जोखिमको पूर्वसावधानीका लागि नेपालमा क्षेत्रगत उमेरहद लगाएको पाइन्छ । मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर मात्रै नभई त्यसरी विवाह गराउनेलाई कारबाही हँॅदै आएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ठूलो सवारीका लागि २१ वर्ष, मझौला र साना सवारीका लागि १८ वर्ष र दुई पाङ्ग्रे सवारीका लागि १६ वर्ष पुगेको हुनुपर्छ । उमेर पूरा नगरेकालाई यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र नै दिँदैन । तर, रात्रिकालीन र मनोरञ्जन व्यवसायमा लगाइएको उमेरहदको प्रभावकारी कार्यान्वयन नहुँदा बालिका यौन हिंसा र दुर्व्यवहारको सिकार भइरहेको अधिवक्ता सविन श्रेष्ठ बताउँछन् । ‘व्यवसाय गर्न नदिने भन्ने होइन मर्यादित र सुरक्षित व्यवसाय, सेवा हुनुपर्छ भन्न खोजिएको हो,’ उनी भन्छन्, ‘ऐनकानुन लागू भइरहेको छैन भने अनुगमन पनि छैन, यसले महिला र बालिका ग्राहकलाई मात्रै होइन मनोरञ्जन क्षेत्रका कामदार महिलालाई नै जोखिम निम्त्याइरहेको छ ।’

यस्तै गैरजिम्मेवार क्रियाकलापका कारण महिला तथा बालबालिकामाथिको घटना बढ्दो क्रममा छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा महिला तथा बालबालिकासम्बन्धी अपराध दिनमा औसत १२ वटा हुने गर्छन् । दिनमा औसत ७ जना महिला तथा बालबालिका बलात्कारको सिकार भइरहेका छन् । सामाजिक समावेशीकरण तथा संघीयता केन्द्र नेपालले ०७७ मंसिरमा प्रकाशन गरेको ‘नेपालमा बाल बलात्कारको महामारी’ सम्बन्धी सामग्रीले बलात्कार समाजमा प्रमुख अपराधका रूपमा देखिएको र बालबालिका यसको लक्षित सिकार हुनु चिन्ताको विषय भनेको छ । ‘प्रहरीको तथ्यांकअनुसार २०७७/०७८ मा २ हजार १४४ बलात्कार र ६ सय ८७ बलात्कार प्रयासका घटना भएका छन्, जसमध्ये अधिकांश पीडित नाबालिग रहेका छन्,’ सामग्रीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *