नेपालमा सती प्रथाको अन्त्य भएको आज एक सय दुई वर्ष

नेपाल र भारतको हिन्दु समाजभित्र रहेको सतीप्रथालाई भारतमा अंग्रेज सरकारले गैरकानूनी घोषणा गरेपछि नेपालमा जंगबहादुरले पनि त्यसको सिको गरे तर चन्द्रशमशेरका पालामा मात्रै प्रभावकारी ढंगले कार्यान्वयन भएको थियो ।

नेपालमा सती प्रथाको विधिवत् अन्त्य भएको सय वर्ष पुग्यो। वि.सं. १९७७ असार २५ गते तत्कालीन श्री ३ महाराजा तथा प्रधानमन्त्री चन्द्रशमशेर राणाबाट यसको घोषणा भएको थियो। भनिन्छ, यो घोषणाको विरोध स्वयं महिलाबाट भएको थियो तर सतीप्रथा अन्त्यको घोषणा प्रभावकारी ढंगले कार्यान्वयन भयो।

वसन्त महर्जन
पतिको मृत्युपछि पत्नीलाई पनि चितामा सँगै जलाएर मार्ने यो प्रथा हिन्दू समाजको एउटा कलंक हो। बुद्धको समयसम्म पनि सती प्रथा नभएको कुरा बौद्ध तथा जैन साहित्यबाट थाहा हुन्छ। संभवतः शुंग काल वा त्योभन्दा पछाडि गुप्त कालमा मात्रै यसको थालनी भएको हुनुपर्छ।

यद्यपि यो नेपाल र भारतमा अत्यन्तै प्राचीनकालदेखि हिन्दू समाजमा चलिआएको प्रथा हो भन्ने भ्रम रहेको छ। पछि लेखिएका धार्मिक साहित्यले पनि त्यस्तो भ्रम छर्ने काम गरे। समाजमा यसको पालना सबैले गर्थे भन्ने भ्रम पनि नेपाल तथा भारतमा रहेको छ। हिन्दू समाजमै पनि सीमित वर्ग र स्वार्थमा मात्रै प्रचलनमा रहेको यो प्रथा अन्य धार्मिक समुदायमा हुने कुरै भएन।

नेपालको इतिहास लिच्छविकालमा पनि विशेषतः राजा मानदेव प्रथमबाट अलि बढी खुल्छ। राजा धर्मदेवको अकस्मात् मृत्युपछि रानी राज्यवती सती जान चाहेकी थिइन् तर मानदेवले आमालाई सती जानबाट रोक्न आत्महत्याको धम्कीसमेत दिएर रोकेको कुरा चाँगुनारायणको अभिलेखमा स्पष्टसँग लेखिएको छ।

पतिको मृत्युपछि सती जाने वा सतीव्रत बस्ने दुई विकल्प रहेको कुरा विष्णुधर्मोत्तर पुराण, नारदस्मृति आदि हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ। यही मान्यताअनुसार भौमगुप्तकी आमा आभीरी, जयदेवकी आमा वत्सदेवी र अरू पनि सती नगई सतीव्रत भएर बसेको थाहा हुन्छ।

सती प्रथा वा सतीव्रतको विपरीत नेवार समाजमा पतिको मृत्युपछि पुनः अर्कोसँग विधिवत् विवाह गर्ने सांस्कृतिक अधिकार महिलामा निहित छ। नेवार समाजमा कन्यालाई सानै उमेरमा बेलसँग विवाह गरिदिने चलनलाई इही संस्कार भनिन्छ र यो संस्कारपछि नेवार महिला विधवा हुनुपर्दैन भन्ने मान्यतामा आधारित छ।

उनीहरूले उमेर पुगेपछि कुनै पुरुषसँग गरिने विवाह सामाजिक दायित्व मात्रै हो र सुपारी फिर्ता गरेर एकतर्फी रूपमा सजिलैसँग पारपाचुके गर्ने अधिकार प्राप्त गर्न सक्थे। लोग्ने चितामा जलिरहेको अवस्था वा त्यसपछि नै पनि सुपारी फिर्ता गरेर पारपाचुकेका सम्पूर्ण विधिविधान पूरा गर्ने चलन केही दशक अघिसम्म भएको नेवार समाजमा सतीप्रथा वा सतीव्रतको कुरा असान्दर्भिक देखिएको छ।

विभिन्न समयको सामाजिक जीवन चित्रण गरिएका हजारौं लोकगीतहरू संकलित छन् तर त्यसमा सतीप्रथाको सन्दर्भ नपाइनु उल्लेख्य कुरा हो। राजा रणबहादुृर शाहकी जेठी रानी राजराजेश्वरीको सतीगमनको वर्णन गरिएको एउटा लोकगीत भने पाइन्छ।

हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी रानीबाट भविष्यमा खतरा आउन सक्ने संभावना देखेर तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले दिवंगत राजाको दाहसंस्कार सम्पन्न भएको कैयौं दिनपछि पनि हेलम्बुबाट काठमाडौं झिकाई सती पठाएका थिए। यही वर्णन सो गीतमा रहेको छ तर रानीको नाम विजयावती उल्लेख हुनुको कारण चाहिँ बुझिंदैन।

प्राप्त लिच्छविकालीन अभिलेखहरूमा कुनै महिला सती गएको नपाइए पनि यो प्रथा छँदै थिएन भन्न सकिन्न। मध्यकालीन अभिलेखहरूमा बहुविवाहको प्रचलन अत्यधिक भएको र दर्जनौं रानी दिवंगत राजासँगै सती जाने गरेको वर्णन पाइए पनि यो सबैमा लागू नभएको वा इच्छानुसार हुने गरेको पाइन्छ।

रानीहरू देवलदेवी र पदुमलदेवी सती गएनन्, बरु उनीहरुले तत्कालीन राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। यसरी नै पति गुमाएका राजकुमारी नायकदेवी (राजा रुद्र मल्लकी छोरी) ले पुनः विवाह गरेको पाइन्छ। राजा पार्थिवेन्द्र मल्ल (इ.सं. १६८०–१६८७) को मृत्युपछि रानी ऋद्धिलक्ष्मी मल्ल सती गइनन् बरु बालक राजा भूपालेन्द्र मल्ल (राजा प्रतापमल्लका नाति) लाई गद्दीमा राखी प्रधानमन्त्रीको सहयोगमा राज्य चलाइन्।

महिलालाई जबर्जस्ती गरेर भए पनि सती पठाउने गरिन्थ्यो भन्ने कुराको प्रमाण पशुपति आर्यघाटमा रहेको संरचनाको अवशेषबाट बुझिन्छ।

सामान्यतः सती जाने महिलालाई भाङलगायतका लागू पदार्थ खुवाइने चलन देखिन्छ भने आर्यघाटको एउटा चितामा आगोले पोलेर चलमलाउँदा भालाले रोपिने तथा घाइते भएर मर्ने गरी विशेष बन्दोबस्त मिलाइएको संरचनाको अवशेष अझै पनि देख्न पाइन्छ।

सतीप्रथाको प्रचलन राजनीतिक दाउपेच तथा सम्पत्तिमाथिको अधिकारमा आधारित देखिन्छ। हिन्दू समाजभित्रै अधिकांश नेपाली हिन्दू महिलाहरू सतीव्रत बस्ने गरेको पाइन्छ। विधवा विवाहको सन्दर्भले सतीव्रत तोडिन पनि सक्ने रहेछ भन्ने कुरा स्पष्ट हुन्छ।

तत्कालीन मल्ल (हिजोआज नेवार समुदाय अन्तर्गत हेरिने) राजपरिवार आफूलाई विशिष्ट र हिन्दू धर्मपरायण मान्ने भएका कारण करबल वा राजीखुशीले सती जाने बेग्लै हो, नत्र नेवार समाजमा सती प्रथा देखिंदैन।

हिन्दूबाहेक अन्य धर्मावलम्बीहरूमा यो प्रथा हुने कुनै संभावना नै भएन। तर सतीप्रथा परम्परादेखि व्यापक र अनिवार्य रूपमा सबैले मान्दै आएको जसरी चित्रण गर्नाले नेपाली समाजलाई बुझ्न पहिले मात्र होइन अहिले पनि अलमल्याइरहेको छ।

भारतमा सतीप्रथा बन्द हुनुपर्ने चिन्तन केही समाज सुधारक हिन्दू अभियन्ताहरूबाट भएको थियो भने अंग्रेज सरकारले पछि सतीप्रथालाई गैरकानूनी घोषित गरिदिएको थियो। त्यसैको सिको गरेर जंगबहादुरले पनि सतीप्रथाको अन्त्य गरेका थिए तर मृत्युपछि उनकै रानीहरूलाई भाई धीरशमशेरले जबर्जस्ती सती पठाएका कारण प्रभावकारी हुन पाएन। चन्द्रशमशेरले भने सती प्रथालाई प्रभावकारी ढंगले अन्त्य गराउन सफलता पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *