अमेरिकी सहायक विदेशमन्त्री लु भोलि काठमाडौं आउँदै

काठमाडौँ : दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि  (शुक्रबार) नेपाल आउँदै छन्।

काठमाडौँस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै सहायक विदेशमन्त्री लु शुक्रबार काठमाडौं आउने जानकारी दिएको हो। यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ।

अमेरिकन चेम्बर अफ कमर्शको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा बुझ्ने समेत दूतावासले जनाएको छ।

लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका वेला काठमाडौँ आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो।

लु सन २०२१ को १५ सेप्टेम्बरदेखि अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एशियाली मामिला ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *