रोपाइँकै समयमा तोकियो धानको समर्थन मूल्य

सरकारले यस वर्ष रोपाइँकै समयमा धानको समर्थन मूल्य तोकेको छ । विगत वर्षहरूमा किसानको धान बिचौलियाले खरिद गरेपश्चात् मात्र समर्थन मूल्य तोक्दै आएको सरकारले यसपटक समयमै धानको समर्थन मूल्य तोेकेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले यस वर्ष मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको छ । गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो । यस वर्ष मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ तोकेको छ ।

किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले समयमै धानको समर्थन मूल्य तोकेर उत्साहित बनाए पनि रोपाइँ कम हुने आकलनले खाद्य संकटको जोखिम रहेको बताए । उनले भने,‘असार सकिनैलाग्दा ५० प्रतिशत पनि रोपाइँ भएको छैन, धान उत्पादन घट्दा संकट हुने चिन्ता थपिएको छ ।’ यसपटक मौसम पूर्वअनुमान महाशाखाले पनि कम पानी पर्ने आकलन गरेको छ । कृषि मन्त्रालयका अनुसार हालसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कम पानी पर्ने र धान रोपाइँ नै कम हुने हुँदा उत्पादनमा ह्रास आउने अनुमान गरेर सरकारले किसानको धान सबै खरिद गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *