एमसीसी कार्यान्वयनको अवस्था बुझेर फर्के लू

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी)को नेपालमा कार्यान्वयनको अवस्था बुझेर फिर्ता भएका छन्। आगामी भदौबाट एमसीसी कार्यान्वयनमा जाँदैछ।

शुक्रबार एकदिने नेपाल भ्रमणमा आएका लूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमसीसी कार्यान्वयनको विषयमा नेपालको तयारी अवस्थाबारे चासो राखेका थिए।

नेपाल आइपुगेलगत्तै लूले सुरुमा कांग्रेस सभापति देउवासँग भेट गरेका  थिए। देउवा प्रधानमन्त्री भएका बेला संसद्बाट एमसीसी अनुमोदन भएको थियो। देउवा सचिवालयका अनुसार ‘लूले एमसीसी कार्यान्वयनमा नेपालको तयारी के कस्तो छ ? भनेर जिज्ञासा राखेका थिए। जवाफमा देउवाले सदनबाट पास भइसकेको विषय कार्यान्वयनमा लैजान कुनै समस्या नहुने बताएका थिए। देउवापछि लूले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका थिए।

लूले एमसीसी कार्यान्वयनमा सरकारको तयारी कस्तो छ ? भन्दै परराष्ट्रमन्त्री साउदसँग चासो राखेका थिए। जवाफमा मन्त्री साउदले नेपाल तयारीमै रहेको र एमसीसी कार्यान्वयनमा कुनै समस्या नहुने बताएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए।

लूले एमाले अध्यक्ष ओलीलाई पनि एमसीसी लन्च हुन लागेकोमा धन्यवाद दिएका थिए। एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार लूले एमसीसीका योजना समयमै सम्पन्न हुन भनेर शुभकामना दिएका थिए। त्यसपछि साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका लूले प्रधानमन्त्रीसँग पनि एमसीसी कार्यान्वयन जानुपूर्व प्रधानमन्त्री र सिंगो नेपाललाई बधाई भनेका थिए।

लूको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘डोनाल्डजीले एमसीसी कार्यान्वयनको मुखमा छौं। नेपालबाट तयारी अवश्य राम्रो छ। यो नेपालको हितमा छ। हाम्रो सहकार्य सदैव रहनेछ’ भनेका थिए। जवाफमा प्रधानमन्त्रीले ‘एमसीसी कार्यान्वयनमा नेपाल तयार छ,भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *