डेंगीबाट यो वर्ष ६६ जिल्लामा करिब १२ सय जना संक्रमित #DenguePrevention

काठमाडौं, २९ असार २०८०

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष डेंगी महामारीको रूप लिने जनाएको छ ।

सोमबार टेकु अस्पतालको सभाहलमा भएको डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी यो वर्ष पनि सम्भावित महामारीलाई ध्यान दिँदै तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

डा. मरासिनीका अनुसार, ‘हरेक वर्ष महामारी फैलिन सक्छ भनेर त्यसैअनुसारको हाम्रो तयारी आवश्यक हुनुपर्छ । नेपालमा देखिएको ट्रेन्डलाई हेरेर ढुक्क बस्न सक्ने अवस्था छैन ।’
हाल देखिएको डेंगीका केसहरू त्योभन्दा पनि बढी हुन सक्ने भन्दै सबै पालिका तथा निजी अस्पतालहरुलाई अनिवार्य रूपमा आफ्नो कर्तव्य सम्झेर रिपोर्ट गर्नुपर्ने उनले बताए । ‘डेंगी नियन्त्रण तथा रोकथामका लागि अघिल्लो वर्ष धेरै केसहरू देखिएका ठाउँमा वडा तथा टोल विकास समितिसित समन्वय गरिएको थियो।

हाल देशभर झन्डै १२ सय व्यक्तिमा डेंगी संक्रमण भएको छ । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार जनवरी १ देखि हालसम्म ६६ जिल्लामा डेंगीका १ हजार १ सय ९२ जनामा संक्रमण भएको छ । यो अवधिमा डेंगीबाट एक जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमण दार्चुला, धादिङ र सुनसरीमा पाइएका छन् । संखुवासभामा ३१, सुनसरीमा १३४, धादिङमा १७५, काठमाडौंमा ३२, भक्तपुरमा ३६, ललितपुरमा १३ म्याग्दीमा ४३, कास्कीमा ७२, दार्चुलामा १८८, कञ्चनपुरमा ३४, रुपन्देहीमा २६ जनालाई संक्रमण भएको छ । कतिपय केस केन्द्रमा रिपोर्ट नभएकाले पनि संक्रमण अझ फैलिएको हुन सक्ने ईडीसीडीको अनुमान रहेको छ।

जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । ईडीसीडीको तथ्यांक हेर्ने हो झने गत वर्ष मंसिरसम्म डेंगीका धेरै केसहरू थिए । अघिल्लो वर्ष सरकारले डेंगी संक्रमणको रोकथाममा समयमा नै एक्सन नलिँदा धेरै व्यक्तिले ज्यान गुमाउन पुगे । गत वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । संक्रमितमा ५३ प्रतिशत पुरुष थिए भने ४७ प्रतिशत महिला थिए । अघिल्लो वर्ष सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७७ प्रतिशत संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पनि ५६ प्रतिशत केस काठमाडौं उपत्यकामा भेटिएको थियो ।

त्यसैगरी सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । तथ्यांक विश्लेषण गर्ने हो भने नेपालमा डेंगी फैलिने स्वरूप हेर्दा हरेक २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोप लिएको देखिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले ‘ट्रेन्ड’ हेर्दा महामारी फैलिन नसक्ने देखिए पनि तयारी कम गर्न नहुने बताउनुभयो। उनले भने, ‘काठमाडौंमा अहिले डेंगीका गम्भीर केशहरू पाइएका छैनन् । सायद मानिसहरूमा रोगप्रतिरोधी क्षमता बढेर पनि होला । तर जुन ठाउँमा पहिला केसहरू देखिएका छैनन् त्यहाँ आउटब्रेक हुन सक्छ ।’

डा. चालिसेका अनुसार डेंगी संक्रमित सबैलाई गम्भीर लक्षण देखा नपर्ने भन्दै ८० प्रतिशत संक्रमितमा २ देखि ३ प्रतिशतलाई मात्रलाई बचाउन नसकिने हुन्छ । डेंगीका बेला प्लेट्लेट्स घट्ने भए पनि केही दिनमा निको हुने हुन्छ।सामाजिक सञ्जालमा छरिएको भ्रमको पछि नलाग्न भन्दै जभाभावी केही प्रयोग नगर्न उनको सुझाव छ । डा. चालिसेले भने, ‘आफैं केही समयमा सञ्चो हुने कुरामा धेरै किन दुःख गर्ने ? घटेको प्लेटलेट्स बिस्तारै बढ्छ । सामान्य लक्षण छ भने घरमै आराम गरेर स्वस्थ आहारमा ध्यान दिनुपर्छ ।’

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । एक्कासि ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ ।

डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा फारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संत्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तन, तापक्रम, हृयुमिडिटी, लामखुट्टेको आनीबानी, यातायातको सुविधा, जनसंख्याको ओहोरदोहोर लगायत थुप्रै कारणले डेंगीको केस बढ्दै गएको विज्ञहरूको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *