प्रतिस्पर्धामा गएपछि ४ बैंकले बढाए निक्षेपको ब्याजदर

काठमाडौँ — ब्याजदर निर्धारणमा भद्र सहमति तोडेर प्रतिस्पर्धामा गएसँगै वाणिज्य बैंकहरुले आफूअनुकुल ब्याजदर तोकेका छन् । साउनदेखि लागू हुनेगरी बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् भने केहीले स्थिर र केहीले घटाएका छन् ।

व्यक्तिगत मुद्दतीमा हालसम्म बैंकहरुले अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा साउनदेखि केहीले १०.९ प्रतिशतसम्म दिने भएका छन् । असारको तुलनामा साउनमा बढीमा १० प्रतिशतले निक्षेपको ब्याजदर बढाउन वा घटाउन बैंकहरू स्वतन्त्र छन् । व्यक्तिगत मुद्दती खातामा बैंकहरूले दिने ब्याजदरभन्दा संस्थागत मुद्दतीमा कम्तिमा २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था छ ।

सार्वजनिक गरिएको नयाँ ब्याजदरको सूचीअनुसार प्राइम कमर्सियल बैंकले ३ महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १०. ९४ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । सोही अवधिको रेमिट्यान्स खातामा बैंकले १२.५ प्रतिशत ब्याज दिने भएको छ । एनएमबी बैंकले १० वर्षमाथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा १०.९८ प्रतिशत ब्याजदर दिने भएको छ ।

त्यस्तै नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १०.४९ प्रतिशतसम्म ब्याज दिने भएको छ । कुमारी बैंकले ५ वर्षमाथिको अवधिको निक्षेपका लागि १०.०१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । ग्लोबल आईएमई, हिमालयन, सिटिजन्स, लक्ष्मी सनराइज र एसबीआई बैंकले भने व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर नै ९.९९ प्रतिशतसम्म तोकेका छन् ।

यीबाहेक अन्यको ब्याजदर असारको तुलनामा घटेको छ । सानिमा, कृषि विकास, प्रभु, एभरेस्ट, सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ९.५ प्रतिशत तोकेका छन् । माछापुछ्रेले ९, राष्ट्रिय वाणिज्यले ८.९९ र स्टान्डर्ड चार्टर्डले सबैभन्दा कम ८.९५ प्रतिशतसम्म व्यक्तिगत मुद्दती निक्षेपको ब्याज तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *