काठमाडौं । पछिल्ला दिनहरुमा भारतले आफ्नो संसद भवनमा राखेको अखण्ड भारत नामक नक्शाको नेपालमा चौतर्फी विरोध भइरहेका छ ।
यतिमात्रै होइन, काठमाडौंका मेयर बालेनले भारतको विरोधमा राखेको ग्रेटर नेपालको नक्शाको समेत चर्चा उचाईमै छ । यता, भ्रष्टाचार, मुलुकमा व्याप्त वेथितिका विषयमा पनि सडकदेखि सदनसम्म नै आवाज उठिरहेका छन् ।
विहीबार पनि सांसददेखि संसदबाहिर सांसदहरुले यस विषयमा आवाज उठाए ।
भारतले सार्वजनिक गरेको अखण्ड भारतको नक्शाबारे पछिल्ला दिनहरुमा विरोधका आवाज झन् पेचिलो बन्दै गएका छन् । सत्तापक्षीय नेताहरुदेखि प्रतिपक्षीले समेत संसद बैठकबाट यो विषयमा विरोध जनाइरहेका छन् ।
यता, जनस्तरबाट समेत भारतको कदमको चर्को विरोध र आलोचना भइरहेको छ । अझ् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको भन्दै बालेनको कदमलाई समर्थन गर्नेहरु पनि बढेका छन् ।
प्रतिनिधि सभा सांसदले नै बालेनको कदमको समर्थन गरेका छन् । संसद भवन परिसरमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारको विषय उठान गरे ।
उनले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको र प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएका आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरुले सत्तामा जान र सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेका भन्दै वर्तमान राजनीतिक प्रवृति विकृत भएको टिप्पणी गरे ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंकित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको टिप्पणी गरे ।
आगामी आर्थिक वर्षको बजेट कटौती, यसको वितरण, सरकारले करमा गरेको परिवर्तन लगायतका विषयमा समेत सांसदहरुको टिप्पणीहरु गर्दै आएका छन् ।