के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

हाम्रो समाजमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ, सिरिंग-सिरिंग गर्छ भन्ने व्यापक भ्रम रहेको छ। ठिक उल्टो दाँत सफा नगर्दा चाँही कयौं यस्ता समस्याहरु आउछन्। गिजा तथा दाँतमा जमेको फोहोरमा लाखौँ मात्र नभएर करोडौं संख्यामा किटाणुहरु हुन्छन्। त्यस्ता किटाणुहरुले त्यहाँ भएका खानेकुराहरुलाई सडाएर केही रसायनहरु उत्पादन गर्दछ। त्यस्तो रसायनले गिजा, दाँत र वरिपरिको हड्डीलाई कमजोर बनाउँदै क्षति गराउँछ।

फोहोरबाटै उत्पन्न हुने ग्यासका कारण मुख गन्हाउने पनि गर्दछ। फोहोरलाई मुखमा जमाएर राख्नु भनेको रोगको स्रोतलाई पालेर राख्नु हो। त्यस्तो फोहोरले निम्न समस्याहरुलाई निम्त्याउने गर्दछ।

दाँत सफा नगर्दा आउने समस्याहरु
१. गिजाबाट रगत आउने

२. गिजा सुन्निने

३. गिजा माथि तल माथि सर्ने

४. मुख गन्हाउने

५. दाँत फट्टिने र हल्लिने

६. गिजा पाक्ने

मुख्यतय फोहोरका कारण गिन्जिभाइटिस र पेरिओडोन्टाइटिस जस्ता मुख्य दुई समस्या आउँछन् र  तिनै रोगका लक्षण माथि उल्लेख गरिएका हुन्।समस्या बढ्दै जाँदा अन्त्यमा दाँत धेरै हल्लिने र त्यसलाई बचाउनै नसक्ने भएर निकाल्नुपर्ने अवस्था आउछ। यस्ता जटिलता बाट बच्नलाई समयमै दाँतलाई योग्य दन्त चिकित्सकको परामर्शमा मेसिनद्वार सफा गर्नुपर्दछ।

दाँतलाई ६ महिनादेखि वर्ष दिनमा १ पटक सफा गर्नुपर्ने हुन्छ। फोहोर जमेकै छैन भने दाँत सफा गर्ने पर्छ भन्ने पनि हुँदैन। त्यसका लागि दाँतलाई ६-६ महिनामा परिक्षण गरिनुपर्ने हुन्छ र चिकित्सकको सल्लाह बमोजिम अगाडि बढ्नु पर्दछ।

उसो भए दाँत सफा गरिसकेपछि किन हल्लेको जस्तो, चिसो तातोले सिरिंग-सिरिंग गरेको जस्तो गर्दछ त? त्यो किन हुन्छ भने माथि चर्चा गरिएझैँ फोहोरले गिजा तल-माथि सर्ने, हड्डी खिएर दाँत भित्रभित्रै हल्लिने, दाँत खिइने गर्दछ। तर त्यो व्यक्तिलाई महसुस हुँदैन किनकि फोहोरले दाँतलाई ढाकेर राखेको हुन्छ। यस्तो गर्दा हल्लिएको दाँतलाई फोहोरले समाएर राख्छ। खिइएको दाँतलाई पनि फोहोरले ढाकेको हुनाले चिसो तातो लाग्दैन। तर त्यो फोहोरलाई मेसिनले हटाउने बित्तिकै क्षति भएका दाँत बाहिर हावा-पानीमा खुल्ला हुन्छ। त्यसैले केही दिन चिसोतातो लाग्ने र दाँत हल्लिएको जस्तो अनुभुति हुन्छ। जुन बिस्तारै कम हुँदै जान्छ। कहिलेकहिँ त्यसको निवारण गर्नलाई विशेष टूथपेष्ट प्रयोग गर्नपर्ने हुनसक्छ।

यस सम्बन्धमा अर्को पनि एक भ्रम रहेको छ। एकपटक दाँत सफा गरेपछि सधैं सफा गरिरहनुपर्दछ भन्ने विश्वास रहेको पाइन्छ। तर त्यो भन्दापनि सफा गरेपछि राम्रोसँग दाँत माझिएन भने चाँडै फोहोर जम्ने गर्दछ। र फेरि पनि दाँत सफा गर्नुपर्ने वाध्यता आइपर्छ। त्यसैले एक पटक सफा गरेसी पटक पटक सफा गर्नुपर्ने भएको हैन कि, तत्पश्चात प्रभावकारी रुपले दाँत नमाझ्नाले त्यस्तो समस्या आएको हो।

अर्को कुरा दाँत धेरै बाङ्गो टिङ्गो छन, खप्टिएका छन भने पनि धेरै मात्रामा फोहोर जम्ने गर्दछ। एकपटक फोहोर जमिसकेपछि ब्रसले सफा गर्न सकिँदैन। त्यसैले दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *