कांग्रेस बैठकः रोजगार र शिक्षामा विनोद चौधरीको जोड

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवा राजनीतिमा जोड दिँदै रोजगारी र शिक्षामा ध्यान दिएमात्र पार्टी बलियो हुने आधार रहने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भनाइ राख्दै केन्द्रीय सदस्य चौधरीले युवामा निराशा बढेको भन्दै तिनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले ‘जुन पार्टीका कारण विदेशिन बाध्य भएका छौँ फेरि त्यसलाई समर्थन गर्दैनौँ भन्ने गलत नजिर अहिलेका नयाँ पार्टीका नेताहरुले बसाइरहेको’ भन्दै कांग्रेसको आफ्नो रणनीति सार्वजनिक गरी त्यस्ता विदेशिएका युवालाई सम्बोधन गर्नुपर्ने बताए ।

चौधरीले चुनावका बेलामा आफ्नो पार्टीका नेतालाई जिताउने भन्दा पनि कसरी हराउन सकिन्छ भनी लागेको तीतो अनुभव आफूसँग रहेको बताए ।

उनले पछिल्लो समय देखिएका पार्टीहरुले गरिरहेको सदस्यता विवरणलाई पुरानो पार्टीको नाताले आफूहरुले पनि त्यसो गर्न सकेनौँ भने कांग्रेस भोलिका दिनमा अप्ठेरोमा पर्ने बताएका छन् ।

बैंकमा तरलता बढेको भन्दै यसलाई व्यवस्थित गर्न र बेरोजगार पाँच लाख युवालाई सम्बोधन गर्न कसरी सकिन्छ भनी अगाडि लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले देशभरमा योजना लगेर आकर्षण गराउन जसको अनुहार बिक्छ पार्टीले उसैलाई अगाडि बढाउनु पर्नेमा पनि जोड दिएका छन् ।

उनले शिक्षामा मात्रै दुई खर्ब रुपैयाँ बाहिरिएको भन्दै त्यसलाई कसरी नेपालमै रहने गरी शिक्षा नीति बनाउने हो भन्ने बारेमा पनि कांग्रेस गम्भीर हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *