काठमाडौं, असार २१ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको विरोधलाई पार्टीले भ्रमक, आपत्तिजनक र दुराशययुक्त प्रचारबाजी भनेको छ।बिहीबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताउनुभएको हो।उहाँले लोकतन्त्रको अभ्यास गर्ने थलो संसदसमेत अवरोध गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
‘हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलबाट गरिएको भ्रामक, आपत्तिजनक, दुराशययुक्त प्रचारबाजी र लोकतन्त्रको अभ्यास गर्ने थलो संसदसमेत अवरोध गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
प्रवक्ता महराले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्ड र सिंहका बीचमा औपचारिक मात्र नभएर भावनात्मक रुपमासमेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उल्लेख गरिएको छ।उहाँले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रतिपक्षी दलको कुत्सित चाहना पुरा गर्ने अभिष्टबाहेक केही नभएको उल्लेख गर्नुभएको छ।
‘प्रितम सिंहबाट आफूलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको र त्यसको लागि उहाँले सक्दो योगदान गरेको यथार्थ प्रकट गर्ने प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षी दलको कुत्सित चाहना पूरा गर्ने अभिष्टबाहेक केही होइन’, विज्ञप्तिमा थप भनिएको छ।
मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद विघटन गर्नेले भ्रष्टाचारीको छानबिनका लागि फाइल खोल्दा राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य जनताले बुझिसकेको दाबी विज्ञप्तिमा गरिएको छ ।
प्रतिपक्षी दल एमाले ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति देखाएको आरोप माओवादीले लगाएको छ।एमाले प्रधानमन्त्रीविरुद्ध भ्रामक र दुराशययुक्त प्रचारमा उत्रिएकोप्रति माओवादीले भत्र्सना गरेको छ।विज्ञप्तिमा राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टीपक्ति र जनसमुदायमा अपीलसमेत गरिएको छ।
